रोयटर्स । होर्मुज जलडमरूमध्यमा मालवाहक जहाजमाथि भएको ड्रोन आक्रमणको जवाफमा अमेरिकाले इरानका सैन्य पूर्वाधारमाथि हवाई हमला गरेको छ। दुवै देशले एकअर्कामाथि गत साता भएको युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएका छन्।
अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले इरानका मिसाइल तथा ड्रोन भण्डारण स्थल र तटीय रडार केन्द्रहरूलाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ। कमाण्डले विस्फोटको भिडियो सार्वजनिक गर्दै सैन्य कारबाही सम्पन्न भएको जानकारी दिएको छ।
इरानले भने दक्षिणी शहर सिरिकस्थित बन्दरगाह नजिक प्रहार भएको पुष्टि गर्दै त्यसको जवाफमा आफ्ना नौसैनिक बलले क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ। यद्यपि कुन स्थानमा क्षति पुगेको भन्ने विवरण सार्वजनिक गरिएको छैन।
यसैबीच, इजरायल र लेबनानले इजरायल तथा इरान समर्थित हिजबुल्लाहबीच चार महिनादेखि जारी द्वन्द्व अन्त्य गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका छन्। उक्त सहमतिअनुसार हिजबुल्लाहलाई निःशस्त्रीकरण गर्ने र इजरायली सेना लेबनानबाट फिर्ता हुने उल्लेख भए पनि यसको कार्यान्वयनबारे अन्योल कायम छ। हिजबुल्लाहले भने सम्झौतामा सहयोग नगर्ने जनाएको छ।
ओमानको तट नजिक मालवाहक जहाजमाथि बिहीबार भएको आक्रमणपछि इरानले होर्मुज जलडमरूमध्यमा जहाज आवागमनमाथि आफ्नो नियन्त्रण रहने दाबी गर्दै खाडी मुलुकहरूलाई अमेरिकाको पक्षमा नउभिन चेतावनी दिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आक्रमणका लागि इरानलाई जिम्मेवार ठहर गर्दै यसले अन्तरिम युद्धविराम सम्झौता उल्लङ्घन गरेको बताएका छन्।
सेन्टकमले व्यापारिक जहाजमाथिको आक्रमणलाई अन्तर्राष्ट्रिय समुद्री सुरक्षामाथिको चुनौती भन्दै त्यसको ‘शक्तिशाली जवाफ’ स्वरूप सैन्य कारबाही गरिएको जनाएको छ। साथै होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने व्यापारिक जहाजहरूको सुरक्षित आवागमनका लागि आवश्यक समन्वय जारी रहने उल्लेख गरेको छ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका युद्धविराम सम्झौताप्रति प्रतिबद्ध रहेको जनाउँदै इरानसँग कुनै असहमति भए संवादमार्फत समाधान खोज्नुपर्ने बताएका छन्। उनले हिंसाको जवाफ हिंसाबाटै दिइने चेतावनी पनि दिएका छन्।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार सिरिक क्षेत्रमा विस्फोटको आवाज सुनिए पनि शनिबार पूर्वी होर्मोजगान बन्दरगाह प्रशासनले बन्दरगाहमा कुनै क्षति नभएको र नियमित रूपमा सञ्चालन भइरहेको जनाएको छ।
इरानको इस्लामिक रिभोलुसनरी गाड्र्स कोप्र्सले अमेरिकी आक्रमणको प्रतिकारस्वरूप क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाइएको दाबी गर्दै भविष्यमा यस्ता आक्रमण दोहोरिए अझ व्यापक जवाफ दिइने चेतावनी दिएको छ। साथै होर्मुज जलडमरूमध्यमा जहाज आवागमनको नियन्त्रण आफ्नो जिम्मामा रहेको दाबी पनि दोहोर्याएको छ।

प्रतिक्रिया