सियोल । कृत्रिम बौद्धिकता (एआई) प्रविधिको तीव्र विस्तारसँगै दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्सले देशकै इतिहासमा सबैभन्दा ठूलो लगानी योजना सार्वजनिक गर्ने तयारी गरेको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार सामसुङले आगामी हप्ता करिब १० हजार खर्ब वन (करिब छ खर्ब ५० अर्ब अमेरिकी डलर) बराबरको दीर्घकालीन लगानी योजना घोषणा गर्ने तयारी गरेको छ ।
यो लगानी योजना राष्ट्रपति ली जे म्युङको राजधानी सियोल बाहिरका क्षेत्रहरूमा औद्योगिक विकास विस्तार गर्ने नीतिसँग पनि जोडिएको छ । राष्ट्रपति लीले सोमबार आयोजना गर्ने ‘नेसनल मेगा प्रोजेक्ट’ कार्यक्रममा सामसुङले आफ्नो नयाँ लगानी रणनीति सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
प्रतिस्पर्धी चिप निर्माता एसके हाइनिक्सले पनि सोही कार्यक्रममा आफ्नो लगानी योजना घोषणा गर्ने सम्भावना रहेको छ । दुवै कम्पनी कृत्रिम बौद्धिकतामा प्रयोग हुने उन्नत मेमोरी चिप उत्पादनमा विश्वका अग्रणी कम्पनी मानिन्छन् ।
डाटा सेन्टर, च्याटबोट, इमेज जेनेरेटर तथा अन्य एआई प्रविधिको माग तीव्र रूपमा बढ्दै गएपछि सेमिकन्डक्टर उद्योगमा ठूलो लगानी आकर्षित भएको छ । एआईको विस्तारले सामसुङ र एसके हाइनिक्स दुवै कम्पनीको नाफा र सेयर मूल्यमा उल्लेखनीय वृद्धि गराएको छ ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार सामसुङको प्रस्तावित प्याकेजअन्तर्गत दक्षिणपश्चिमी दक्षिण कोरियामा नयाँ सेमिकन्डक्टर कम्प्लेक्स निर्माणका लागि करिब तीन लाख अर्ब वन लगानी गरिनेछ । प्रविधि क्षेत्रमा तुलनात्मक रूपमा पछाडि परेका क्षेत्रहरूमा औद्योगिक विकास विस्तार गर्ने लक्ष्य राखिएको छ ।
माइल बिजनेस न्युजपेपरका अनुसार योङ्गिनमा छवटा चिप उत्पादन केन्द्र निर्माणका लागि करिब ६ सय खर्ब वन विनियोजन गरिनेछ भने डाटा सेन्टर र एआई पूर्वाधार विकासका लागि करिब तीन हजार ५०० खर्ब वन लगानी गर्ने योजना रहेको छ । प्रस्तावित १० वर्षे खर्च योजना दक्षिण कोरियाको कुनै पनि निजी कम्पनीले सार्वजनिक गरेको सबैभन्दा ठूलो लगानी प्रतिबद्धता बन्नेछ ।
समाचारअनुसार राष्ट्रपति लीले यसै साता सामसुङका अध्यक्ष ली जे–योङसँग भेट गरी सेमिकन्डक्टर उद्योगमा लगानी विस्तारबारे छलफल गरेका थिए । उनले गत साता एसके समूहका अध्यक्ष चे ताए–विनसँग पनि भेटवार्ता गरेका थिए ।
सामसुङ इलेक्ट्रोनिक्सले गत वर्ष ४३६ खर्ब वन सञ्चालन नाफा कमाएको थियो । यो अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको नाफा आगामी वर्षहरूमा अझ तीव्र रूपमा बढ्ने अनुमान गरिएको छ ।
विश्लेषकहरूका अनुसार यस वर्ष कम्पनीको सञ्चालन नाफा तीन हजार खर्ब वन नाघ्न सक्ने अनुमान गरिएको छ भने आगामी वर्ष यो बढेर पाँच हजार ५०० खर्ब वनसम्म पुग्न सक्छ ।
राष्ट्रपतिका नीतिसम्बन्धी प्रमुख सचिव किम योङ–बीमले योङ्गिनस्थित सेमिकन्डक्टर परियोजनासम्बन्धी छलफल अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार योजना अन्तिम भएपछि सम्बन्धित कम्पनी र सरकारी मन्त्रालयहरूले संयुक्त रूपमा जनतालाई विस्तृत जानकारी दिनेछन् ।
एआई प्रविधिको विश्वव्यापी प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला दक्षिण कोरियाले सेमिकन्डक्टर र कृत्रिम बौद्धिकता क्षेत्रमा आफ्नो नेतृत्व कायम राख्न अभूतपूर्व लगानीको बाटो रोजेको छ ।

प्रतिक्रिया