गुटबन्दीको प्रयास गर्नेमाथि कारबाही गर्न रवि लामिछानेलाई मनिष झाको आग्रह


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री पदका उम्मेदवार मनिष झाले गुटबन्दीको प्रयास गर्नेमाथि कारबाही गर्न सभापति रवि लामिछानेलाई आग्रह गरेका छन् ।

शुक्रबार महाधिवेशन स्थलमा पत्रकारहरुसँग कुरा गर्दै झाले यस्तो बताएका हुन् । उनले भने, ‘संस्थापन पक्ष एकजुट हुनुभयो भने म यहीँबाट आदरणीय रवि लामिछानेज्यूलाई अनुरोध गर्छु– यो गुटबन्दीको प्रयास गर्नेहरूलाई कारबाही गर्दिनुस् न । जे गर्नु हुँदैन भनेर भनिन्छ त्यही हुँदा नराम्रो हो । डेमोक्रेटिक प्रोसेसमा समूहगत अभ्यास गर्नुभयो त्यो हाम्रो नेताको अभिव्यक्ति विपरीत हो ।’

उनले अहिलेसम्म मतदाताको रेस्पोन्स आफूप्रति सकारात्मक पाएको भन्दै निर्वाचन परिणाम आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरे ।

महाधिवेशनमा १० जनाले उम्मेदवारी घोषणा गरेकोमा कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, जगदीश खरेल, गणेश पराजुली र रञ्जु दर्शनाले उम्मेदवारी फिर्ता लिँदै विपीन आचार्यलाई समर्थन गर्ने निर्णय गरेका छन् । त्यसप्रति झाले आपत्ति जनाएका हुन् । अब महामन्त्रीको प्रतिस्पर्धामा मनीष झा, गणेश कार्की, सागर ढकाल र विपिन आचार्य देखिएका छन् ।