महामन्त्रीका उम्मेदवार कार्की भन्छन्-साथीहरुले सभापतिको भनाइलाई खिल्ली उडाउनुभयो


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्रीका उम्मेदवार गणेश कार्कीले महामन्त्रीको उम्मेदवारी फिर्ता लिँदै अर्कालाई भोट माग्नेहरु रास्वपाको सदस्य नभएको बताएका छन् ।

महामन्त्री पदको दाबेदारी प्रस्तुत गरेका प्रमोद न्यौपाने, कविन्द्र बुर्लाकोटी, गणेश पराजुली र जगदीश खरेल (ललितपुर) र रञ्जु दर्शनाले उम्मेदवारी फिर्ता लिँदै विपिन आचार्यलाई समर्थन गरेपछि कार्कीले यस्तो बताएका हुन् । पाँच नेताले सुरुमा उम्मेदवारी घोषणा गरेर पछि आचार्यलाई समर्थन गर्दै मत माग्न थालेका छन् ।

कार्कीले भनेका छन्, ‘यही अधिवेशनमा सभापतिले उदघाटन गर्दै भन्नुभएको थियो, अर्काको लागि भोट माग्ने रास्वपाको पक्का सदस्य हैन । सभापतिको भनाइ सेलाउन नपाई उम्मेदवारी फिर्ता लिएर अर्कोलाई समर्थन गरिएको छ, त्यसले सभापतिको भनाइलाई खिल्ली उडाउँछ । यसले हामीले खराब भनेको गठबन्धनको, प्यानलको झल्को दिन्छ । यो गलत भयो । यसो नगरौँ ।’

कार्कीले चुनाव आउने जाने भन्दै पार्टीको विधि, नीति र चरित्र अलिक लामो हुनुपर्ने बताए । उनले भनेका छन्, ‘चुनाव आउँछ, जान्छ तर पार्टीको विधि, नीति र चरित्र अलिक लामो हुन्छ । त्यसलाई बलियो बनाउने काम नेतृत्वको हो । नेतृत्वले जालझेल गर्ने र गुट बनाउने काम गर्नु हुन्न । हाम्रा कारणले पसिना बगाउँदै, नभएका पैसा सक्दै बसेका प्रतिनिधिहरूको लोकतान्त्रिक चुनावमा भाग लिने अधिकार खोस्न हुन्न ।’

अरुले उम्मेदवारी फिर्ता लिएपछि अब महामन्त्रीमा मनिष झा, विपिन आचार्य, सागर ढकाल र गणेश कार्कीबीच प्रतिस्पर्धा हुनेछ ।