सशस्त्र प्रहरीद्वारा विदेह नगरपालिकामा चौतारा र चापाकल निर्माण


जनकपुरधाम । धनुषाको विदेह नगरपालिकामा सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हेडक्वार्टर, धनुषाले क्विक इम्प्याक्ट प्रोजेक्टअन्तर्गत विश्राम स्थल (चौतारा) तथा चापाकल निर्माण कार्य सम्पन्न गरेको छ ।

निर्माण सम्पन्न भएको संरचनाको उद्घाटन कार्यक्रममा विदेह नगरपालिकाका नगर प्रमुख बेचन दास प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा नम्बर ८ गणका प्रमुख भीमबहादुर विष्ट, धनुषाधाम नगरपालिकाका प्रमुख राजकुमार साह, जनकनन्दिनी गाउँपालिकाकी उपाध्यक्ष, विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य तथा सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो ।

सशस्त्र प्रहरी बलले उक्त परियोजना सीमावर्ती क्षेत्रका स्थानीय नागरिकलाई स्वच्छ खानेपानी तथा विश्रामका लागि आवश्यक सुविधा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरेको जनाएको छ।

स्थानीयवासीले चौतारा र चापाकल निर्माणसँगै दैनिक जीवनमा सहजता आएको भन्दै सशस्त्र प्रहरी बलप्रति धन्यवाद व्यक्त गरेका छन्। कार्यक्रमका वक्ताहरूले सुरक्षा निकाय र स्थानीय तहबीचको सहकार्यले विकास र जनसेवालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका थिए।

सशस्त्र प्रहरी बलले सीमाको सुरक्षासँगै समुदायसँगको सम्बन्ध सुदृढ बनाउन तथा जनमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएको छ।