विराटनगर । नेपालको नर्सिङ शिक्षाको इतिहासमा नयाँ आयाम थपिएको छ । देशमै पहिलोपटक अत्याधुनिक शैक्षिक पूर्वाधार र व्यवहारिक अभ्यासलाई केन्द्रमा राखेर निर्माण गरिएको विराट मेडिकल कलेज शिक्षण अस्पतालको नर्सिङ अध्ययन केन्द्र औपचारिक रूपमा सञ्चालनमा आएको छ।
शिक्षण अस्पतालको पाँचौँ तल्लामा करिब १९ हजार वर्गफिट क्षेत्रफलमा स्थापित उक्त नर्सिङ अध्ययन केन्द्रको उद्घाटन संस्थाका संस्थापक अध्यक्ष प्रा. डा. ज्ञानेन्द्रमान सिंह कार्की तथा संस्थापक उपाध्यक्ष डा. इरिना कार्कीले गरेका छन् ।

अत्याधुनिक सुविधासम्पन्न यस अध्ययन केन्द्रमा आधारभूत नर्सिङ सीप प्रयोगशाला, प्रसूति तथा मातृ स्वास्थ्य नर्सिङ प्रयोगशाला, बाल स्वास्थ्य नर्सिङ प्रयोगशाला, सामुदायिक स्वास्थ्य नर्सिङ प्रयोगशाला तथा पोषण एवं आहार विज्ञान प्रयोगशाला स्थापना गरिएका छन्। साथै आधुनिक प्रविधियुक्त अध्ययन कक्ष, श्रव्य–दृश्य सामग्री तथा व्यवहारिक शिक्षणका लागि आवश्यक सम्पूर्ण पूर्वाधारको व्यवस्था गरिएको छ।

अध्ययन केन्द्रमा विद्यार्थीहरूले शल्यक्रिया कक्ष, नवजात शिशु सघन उपचार कक्ष, प्रसूति कक्ष तथा सघन उपचार कक्षको वास्तविक वातावरणसँग मिल्दोजुल्दो अभ्यास गर्ने अवसर प्राप्त गर्नेछन्। यसबाट उनीहरूले वास्तविक बिरामीको उपचारमा संलग्न हुनुअघि नै आवश्यक ज्ञान, सीप र आत्मविश्वास हासिल गर्न सक्ने विश्वास गरिएको छ।

यहाँ व्यवहारिक अभ्यासमा आधारित शिक्षण, चिकित्सकीय सीप विकास, आपत्कालीन उपचार व्यवस्थापन, सामुदायिक स्वास्थ्य सेवा तथा डिजिटल अध्ययन सामग्रीमार्फत अन्तर्राष्ट्रिय स्तरको नर्सिङ शिक्षा प्रदान गरिने जनाइएको छ। यसले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानलाई व्यवहारिक अनुभवसँग जोड्दै दक्ष र सक्षम स्वास्थ्यकर्मीका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कलेज प्रशासनका अनुसार यस अध्ययन केन्द्रले नर्सिङ शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुका साथै अस्पतालको सेवा प्रवाहलाई समेत थप प्रभावकारी र गुणस्तरीय बनाउन योगदान पुर्याउनेछ। दक्ष, आत्मविश्वासी र सेवामुखी नर्सिङ जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ स्थापना गरिएको यस केन्द्रलाई आगामी दिनमा अझ विस्तार र प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ।


प्रतिक्रिया