विश्व फुटबलको महाकुम्भ चलिरहेका बेला नेपाली फुटबल भने फिफाको निलम्बनमा


काठमाडौँ । विश्व फुटबलको महाकुभ्म चलिरहेका बेला अखिल नेपाल फुटबल संघ(एन्फा) निलम्बनमा परेको छ । विश्व फुटबल महासंघ (फिफा) ले एन्फालाई निलम्बन गरेको हो ।

सरकारले अनावश्यक हस्तक्षेप गरेको भन्दै फिफाले नेपाली फुटबललाई निलम्बन गरेको हो । एन्फाका महासचिव किरण राईले फिफाले नेपाली फुटबललाई निलम्बन गरेको जानकारी दिए ।

उनले बिहीबार बिहान फिफाबाट यस्तो जानकारी प्राप्त भएको बताए । निलम्बन कायम रहुञ्जेल एन्फाका प्रतिनिधि टोली तथा क्लबहरू औपचारिकरूपमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउँदैनन् । यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एन्फाबीच निर्वाचनको विषयमा विवाद भएको थियो ।

फिफा र एएफसीले नेपाललाई एन्फाको कामकारबाहीमा हस्तक्षेप फिर्ता चेतावनी दिँदै अन्यथा निलम्बन हुन सक्ने बताएका थिए । अब निलम्बन तेस्रो पक्षको हस्तक्षेप अन्त्य भई फिफाका सर्तहरू पूरा भएपछि मात्र फुकुवा हुन हुनेछ ।