काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी) मा दर्ता नभई गैरकानूनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
नेपाल मेडिकल काउन्सिलले नियमित अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–चन्द्रागिरी नगरपालिका–८ स्थित स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा कार्यरत ४७ वर्षीया चेतन ए.एम. (पौडेल)ले चिकित्सकको उपाधि प्रयोग गरी बिरामीको आधुनिक चिकित्सा निदान तथा उपचारमा संलग्न रहेको फेला पारेको थियो ।
काउन्सिलका अनुसार उनले नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र प्राप्त नगरी बिरामीलाई औषधि सिफारिससमेत गर्ने गरेको प्रमाण भेटिएको छ । त्यसपछि काउन्सिलले तयार पारेको छानबिन प्रतिवेदनसहितको उजुरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पठाएको थियो ।
उजुरीमाथि प्रारम्भिक अनुसन्धान गरेपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर सीआईबीको टोलीले असार ९ गते चन्द्रागिरी–८ स्थितबाट पौडेललाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले पक्राउ परेकी पौडेलमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ‘इलाज सम्बन्धी कसूर’ मा अनुसन्धान अघि बढाएको छ। काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

प्रतिक्रिया