पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता


इस्लामावाद । पाकिस्तान र इरानले क्षेत्रीय शान्ति, संवाद र कूटनीतिमा आ–आफ्नो दृढता व्यक्त गर्दै विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगलाई अझ सुदृढ पार्ने प्रतिवद्धता गरेको पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले बुधबार बताएका छन् ।

इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई विदाइ गरेको केही समयपछि प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गर्दै आफुहरुले क्षेत्रीय स्थिरता, द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरुमा केन्द्रित रहि सौहार्दपूर्ण छलफल गरेको बताएका छन् ।

प्रधानमन्त्री सरिफका अनुसार अमेरिका र इरानबिच इस्लामाबाद समझदारी पत्रमा हस्ताक्षर पछि स्विजरल्याण्डको बर्गेनस्टकमा भएको पहिलो चरणको प्राविधिक वार्ताको समापन पछि यो पहिलो बैठक भएको हो ।

दुबै पक्षले यस क्षेत्रमा शान्ति र स्थिरता प्रवद्र्धन गर्न आफ्नो साझा प्रतिबद्धतालाई दोहोर्याउँदै वार्ता र कूटनीतिमार्फत बाँकी विषयको समाधानको महत्वलाई जोड दिएको प्रधानमन्त्री सरिफले पुष्टि गरेका छन् ।

शान्ति, प्रगति र समृद्धिका लागि तेहरानसँग नजिकबाट काम गर्ने प्रतिबद्धता दोहोर्याउँदै उनले पाकिस्तानलाई मित्र राष्ट्र छिमेकी र मध्यस्थकर्ताका रूपमा विश्वास गरेकोमा इरानी नेतृत्वलाई धन्यवाद दिएका छन् ।

दुवै पक्षले आपसी हितका सबै क्षेत्रमा पाकिस्तान र इरानबिचको दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ पार्न सहयोग विस्तार गर्न सहमत भएको जनाइएको छ ।