जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा


किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलायतका प्रधानमन्त्री केइर स्टार्मरको युक्रेनलाई दिएको निरन्तर समर्थनप्रति प्रशंसा गरेका छन्। रूससँगको युद्धमा बेलायतको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले स्टार्मरलाई धन्यवाद दिएका हुन्।

स्टार्मरले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेपछि जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै सहकार्य र संयुक्त निर्णयहरूले युक्रेनको सुरक्षा र युरोपको रक्षालाई बलियो बनाउन मद्दत गरेको उल्लेख गरे।

युक्रेनले सन् २०२२ फेब्रुअरीमा रूसले आक्रमण सुरु गरेयता बेलायतलाई आफ्नो सबैभन्दा दृढ समर्थकमध्ये एकका रूपमा लिँदै आएको छ। त्यसयता लन्डनले युक्रेनलाई लगातार सैन्य तथा आर्थिक सहायता प्रदान गर्दै आएको छ।

यता क्रेमलिनले स्टार्मरको राजीनामाप्रति प्रतिक्रिया दिँदै बेलायतको नीति बदलिने अपेक्षा नरहेको जनाएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले दैनिक ब्रिफिङमा बोल्दै स्टार्मरको कार्यकाललाई विशेष रूपमा फरक नभएको टिप्पणी गरे।

उनले भने, ‘डाउनिङ स्ट्रिटको नेतृत्व जोसुकैले लिए पनि रूसको दृष्टिकोणमा ठूलो परिवर्तन हुने देखिँदैन।” साथै उनले हालको राजनीतिक अवस्थाबाट पनि बेलायतको युक्रेनप्रतिको अडानमा परिवर्तन आउने सम्भावना कम रहेको दाबी गरे।