पौडेलको गिरफ्तारी एमालेमाथिको श्रृङ्खलाबद्ध षड्यन्त्रको निरन्तरताः अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला गैरकानुनी ढङ्गले अपहरणको शैलीमा गिरफ्तार गरेकोप्रति घोर निन्दा र भत्र्सना गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले सोमबार राति विज्ञप्ति जारी गरी वर्तमान सत्तापक्षले विपक्षी दलहरूप्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको यो अर्को पराकाष्ठा भएको बताएका छन् ।

‘यो दमनकारी कदम म र हाम्रो पार्टी नेकपा (एमाले)माथि लगातार भइरहेका श्रृङ्खलाबद्ध प्रहार र राजनीतिक षडयन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ’, विज्ञप्तिमा अध्यक्ष ओलीले भनेका छन्,–सत्ताको उन्मादमा गरिएको यस प्रकारको अधिनायकवादी कदमको हाम्रो पार्टी डटेर सामना गर्नेछ ।’

विज्ञप्तिमा सरकारका यस्ता स्वेच्छाचारी र लोकतन्त्रविरोधी क्रियाकलापका विरुद्ध सामूहिक प्रतिवाद गर्न सम्पूर्ण देशभक्त, न्यायप्रेमी र लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरिएको छ । पौडेललाई सोमबार अपरान्ह सुर्खेतबाट प्रहरीले पक्राउ गरेको थियो ।