एमालेजनमा निवेदन


योगेश भट्टराई ।

यतिवेला नेकपा एमालेमा दुईवटा बिचारकाबीचमा बहस भइरहेको छ । यो बहस पार्टी कमिटीमा मात्र सीमित नभएर सार्वजनिक संचारमाध्यमसम्म पुगेको छ । बहसमा एमालेपंक्तिका अलवा सार्वजनिक टिप्पणीकार र बुद्धिजीवीहरूको समेत सहभागिता देखिन्छ । बहसको एउटा पक्ष छ– पार्टीलाई वैचारिक, राजनीतिक, सांगठनिक तथा व्यवहार, कार्यशैली, आचरण र नेतृत्वको व्यापक र बहुआयामिक पुनर्गठन मार्फÞत नेकपा एमालेको पुनर्जागरण ।

बहसको दोश्रो पक्ष छ– सबै पक्षमा यथास्थिति: दुवै पक्षका आफ्ना तर्कहरू छन् । राजनीतिक बहसलाई तर्क र तथ्यमा टेकेर नै संचालन गर्नुपर्दछ । नेकपा एमाले देशभक्त, लोकतान्त्रिक, प्रगतिशील तथा समाजवादीहरूको पार्टी हो । उपरोक्त मान्यता राख्नेहरू केही पनि न कसैको एजेण्ट हुन सक्छन् न कसैको दलाल । राप्रपा, माओवादी, नेका, मधेशवादी जस्ता प्रतिस्पर्धी दलसँग समेत मिलेर चुनाव लडेको र अनेक पार्टीसँग सत्ता साझेदारी गरेको पार्टीले आफनै पार्टीभित्रको फरक विचारप्रति बैरभाव राख्नु एमालेले निर्माण गरेको सभ्यता र संस्कृतिको खिलाफ हुन्छ ।

राजनीतिक बहस र छलफलले पार्टीलाई कहिल्यै कमजोर बनाएको छैन । आफना विचारकाविरुद्ध उभिनुभएका मनमोहन अधिकारी, सीपी मैनालीलगायतका नेताहरूलाई मदन भण्डारीले कसैको दलाल वा एजेण्ट भन्नुभएन बरु उहाँहरूलाई पार्टीमा सम्माजनक स्थानमा राखेर सहकार्य गर्नुभयो । यो हो एमालेको संस्कृति । समयानुकुल पार्टी पुनर्गठन हुने नै छ । पुनर्गठित पार्टीमा सबैको सम्मान हुनेछ । भिन्न भिन्न विचार र मतकाबीचमा हार्दिकतापूर्ण सहकार्य हुनेछ ।

निषेधकारी व्यवहारको अन्त्य हुनेछ । पार्टी सामूहिक र संस्थागत ढाँचामा चल्नेछ । तसर्थः आजको बहसलाई राजनीतिक र वैचारिक दिशादिन सम्पूर्ण एमालेजनमा म हार्दिक अनुरोध गर्दछु । ख्याल गरौँ हामी जवजबादी हौँ हामी मदन भण्डारीका उत्तराधिकारीहरू हौँ !