काठमाडौँ । काठमाडौँमा लागुऔषध खैरो हेरोइनको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउका क्रममा प्रहरीमाथि आक्रमण गरी भाग्न खोज्दा एक जनाको खुट्टामा गोली लागेको छ ।
लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उपत्यकामा लागुऔषध आपूर्ति गर्ने गिरोहमाथि निगरानी गर्ने क्रममा काठमाडौं महानगरपालिका–३२ बालकुमारी पुलमुनीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
ब्युरोका अनुसार भारतको वासमतियाबाट काठमाडौं उपत्यकासम्म खैरो हेरोइन ल्याएर बिक्री–वितरण गरिरहेको अवस्थामा कारोबारीहरूलाई पक्राउ गर्न खोज्दा उनीहरूले प्रहरीमाथि आक्रमण गरेका थिए। त्यसपछि प्रहरीले चेतावनीस्वरूप दुई राउण्ड हवाई फायर गरेको थियो। तर पनि नरोकी भाग्न खोजेपछि प्रहरीले एक राउण्ड गोली प्रहार गरी पर्सा पटेर्वा सुगौली गाउँपालिका–४ निवासी ३९ वर्षीय किशोर प्रसाद ओझैयालाई नियन्त्रणमा लिएको जनाएको छ ।
गोली लागेर घाइते भएका ओझैयाको दाहिने खुट्टाको घुँडामुनि चोट लागेको छ। उनलाई तत्काल राष्ट्रिय ट्रमा सेन्टर पुर्याएर उपचार गराइएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने अन्यमा कैलाली टिकापुर नगरपालिका–५ का २५ वर्षीय अशोक भुल र सप्तरी राजगढ गाउँपालिका–३ का २० वर्षीय निरजकुमार मण्डल रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट ३०० ग्राम खैरो हेरोइन र चार थान मोबाइल फोन बरामद गरेको जनाएको छ । प्रहरीकाअनुसार ओझैया यसअघि पनि लागुऔषध मुद्दामा दोषी ठहर भई तीन वर्ष कैद सजाय तथा एक लाख चार हजार रुपैयाँ जरिवाना भुक्तान गरेर २०८२ पुस १७ गते नख्खु कारागारबाट रिहा भएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

प्रतिक्रिया