–नारायण पौडेल ।
प्रसङ्ग शुरु गरौं अग्रज रवीन्द्र मिश्रको तात्तातो स्टाटसबाट । रास्वपा सांसदहरुको अहंकारप्रति आक्रोशित मिश्र लेख्छन्ः रास्वपाका कैयौँ सांसदहरूमा यति धेरै अहङ्कार देखियो कि, कुरा गरी साध्य छैन । बालेनजीको बुइ चढेर संसद प्रवेश गरेकाहरूले त्यति धेरै घमण्ड नगरिदिए, उनीहरूलाई नै राम्रो हुने थियो।
देशबिदेश बुझेका प्रतिष्ठित पत्रकारको पृष्ठभूमि भएका मिश्रले समेत भुलेछन्– बालेन स्वंयम् रास्वपा र घण्टीको बुई चढेर सांसद भएका हुन् । बालेन स्वंयम् सबथोक हुन्थे भने रवि लामिछानेलाई नेता मान्न र आफैंले माझी औंला देखाएर चोर करार गरेको पार्टीमा ओत लाग्न किन जान्थे ? रवि र घण्टी बिनै राजनीतिक बहाव परिवर्तन गर्न सकिन्छ भन्ने भएको भए नीति, नेतृत्व, संगठन र सिद्धान्त सबथोक स्वीकार गरेर फगत प्रधानमन्त्री सकारेर बालेन घण्टी बजाउदै किन हिड्थे ?
बालेनकै बुई नै सबथोक हुन्थ्यो भने बालेनको कानेकुटी नै चढेका भूपदेब शाहले आछाममा पराजय किन भोग्न पथ्र्यो ? बालेनकै नाम सब थोक हुन्थ्यो भने बालेनको नाम नबिक्ने कम्युनिष्ट किल्ला बाग्लुङ र प्यूठानमा घण्टी कसरी बज्थ्यो ? रवि कति सही कति बेसही बहिखातको हिसाब किताब हुँदै गर्ला । तर, रविले कुर्लेरै सही दलीय किल्लालाई ८० कै निर्वाचनमा भत्काइदिएको किन बिर्सने ? कतिलाई लाग्छ बालेन मेयर भएपछि रविहरु राजनीतिमा उदाएका हुन् । तर गहिरिएर हेर्ने हो भने तत्कालीन सन्दर्भमा एकाध सय फलोअर भएका बालेनलाई टेलिभिजनको पर्दा र फोसबुकको वालबाट लाखौं फ्यान भएका रविहरुले बुई चढाएर आमरुपमा चिनाइदिएका हुन् । भलै आज बालेनका फ्यान फ्लोइङ् चुलीमा छ, जतिबेला उनले मेयरको क्याम्पेन थालेका थिए मुस्किलले लाईक सेयर पाउँथे । प्रियङ्का कार्की, रवि लामिछाने, निश्चल बस्नेतहरुले वक्तव्यमार्फत बुई चढाएपछि बालेनको राजनीतिक फुईं बढेको देखिन्छ । यो हकिकत हो ।
मूलधारका मिडिया र विश्लेषकले गज्जबको बिश्लेषण सुनाउँछन्– पूरा दाबीका साथ– बालेन हुन्थेनन् भने रास्वपा इत्रो हुन्थ्यो । विश्लेषण सुनेर बालेन स्वयंम् चित खान्छन् होला– म नै सबथोक भए मै किन रास्वपा जान्थें ? बालेन स्वयंम् भन्दा बालेनबादी बन्नेहरुको मजबुरी एउटै देखिन्छ– बालेनले बादलुलाई भेटे भेटोस्, तर रविको राप र तापलाई छेकोस् । पार्टी खोलेको ४ बर्ष नपुग्दै दुई तिहाईको शक्ति बन्न सफल भएका रविलाई राष्ट्रिय–अन्तराष्ट्रिय माध्यमले सक्दो ओझेलमा पारेको यही मनोविज्ञानले हो भन्दा अतिशयोक्ति नहोला । राजा भन्दा बढ्ता राजावादी बन्नेहरुको जमातले राजतन्त्र धरापमा पारेको इतिहास छ । बालेनभन्दा बढ्ता बालेनबादी बनेका हरुले बालेनलाई धरापमा पार्ने खतरा बढ्दो छ । बुझ्नेलाई यो कुरा श्रीखण्डै छ, नबुझ्नेलाई खुर्पाको बिँड ।

प्रतिक्रिया