काठमाडौँ । भारतको ऋषिकेशस्थित जूना अखडाका पूज्य आचार्य महामण्डलेश्वर स्वामी अवधेशानन्द गिरीले नेपाललाई ‘देवभूमि’का रूपमा चिनाउन वर्तमान सरकारले गरेको प्रयासप्रति आभार प्रकट गर्नुभएको छ । हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा शुक्रबार काठमाडौँमा आयोजित ‘प्रबुद्ध नागरिक गोष्ठी’लाई सम्बोधन गर्दै उहाँले नेपालको सांस्कृतिक तथा आध्यात्मिक गरिमाको उच्च प्रशंसा गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी स्वामी अवधेशानन्द गिरीले भन्नुभयो, “नेपाललाई देवभूमिको रूपमा चिनाउने प्रयास गरेकोमा म नेपाल सरकारप्रति आभार व्यक्त गर्दछु। राष्ट्रदेवी राजराजेश्वरी तलेजु भवानीको स्वरूप मानिने यहाँका कुमारीका सामु शिर निहुराउन पाउँदा म आफैँलाई अत्यन्तै आह्लादित महसुस गरिरहेको छु।”
उहाँले नेपाल र भारतको सांस्कृतिक तथा आध्यात्मिक चेतना एउटै रहेको चर्चा गर्दै नेपाल एक सार्वभौम राष्ट्र भएको कुरामा जोड दिनुभयो। माता जानकीको स्मरण गर्दै उहाँले ‘नेपालकी छोरी जानकी भारतकी भाग्य विधाता’ भएको बताउनुभयो।
गोष्ठीलाई सम्बोधन गर्दै स्वामीजीले समाजको रूपान्तरण, नैतिक जागरण र राष्ट्र निर्माणमा प्रबुद्ध नागरिकहरूको भूमिका सर्वोपरि हुने बताउनुभयो । सनातन संस्कृतिका सामु रहेका चुनौतीहरूको चर्चा गर्दै उहाँले भन्नुभयो, “हामीलाई तोड्ने प्रयास धेरैले गरिरहेका छन्। हामीले ‘हामी एक हौँ’ भन्ने भावलाई आत्मसात् गर्नुपर्छ। जाति, भाषा र सम्प्रदायका आधारमा हामीलाई कसैले पनि विभाजित गर्न नसकोस् भन्ने हेक्का हामी सबैले राख्नुपर्छ।”
उहाँले वैदिक सनातन संस्कृतिले समस्त लोकको सुखको कामना गर्ने उल्लेख गर्दै भन्नुभयो, “पाश्चात्य संस्कृतिमा संसार एउटा बजार हो, तर सनातन संस्कृतिमा संसार एउटा परिवार हो। यहाँ एकात्मताको संस्कार छ र सबैलाई आत्मवत् ठानिन्छ।”
गोष्ठीमा काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रका बुद्धिजीवी, प्राध्यापक, चिकित्सक, उद्योगी–व्यवसायी, समाजसेवी, धार्मिक अगुवा तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो। सहभागीहरूले यस कार्यक्रमले समाजमा नैतिक मूल्य र मान्यताको जगेर्ना गर्न तथा राष्ट्रिय संस्कृतिप्रति गौरवभाव जगाउन महत्त्वपूर्ण ऊर्जा प्रदान गरेको प्रतिक्रिया दिएका छन्।
कार्यक्रमको सुरुवात नेपालको अतुलनीय सांस्कृतिक विविधतालाई दर्शाउने भव्य प्रस्तुतिहरूसँग भएको थियो। गोष्ठीमा छलिया नृत्य, सखिया नृत्य, मञ्जुश्री नृत्यका साथै बाँसुरी वादन र शिवसतीको कथानकमा आधारित नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा पूर्व कुमारी (माजु) ट्रिस्ना शाक्यको मञ्चमा उपस्थिति रहेको थियो।
हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय संघचालक कल्याण कुमार तिम्सिनाले स्वागत मन्तव्य राख्दै गोष्ठीको औचित्य र सान्दर्भिकतामाथि प्रकाश पार्नुभएको थियो। त्यसैगरी, संघका प्रचारक कपिल भट्टले हिन्दू स्वयंसेवक संघको स्थापना, यसका आधारभूत उद्देश्य र नेपालभर सञ्चालित सामाजिक, परोपकारी तथा सांस्कृतिक गतिविधिहरूको बारेमा विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो।

प्रतिक्रिया