नयाँदिल्लीमा रविको त्यो स्वागत र भारतको चिया नीति


काठमाडौँ । गत फागुन २१ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा उभार आयो । अर्थात् रास्वपाका पक्षमा दुई तिहाई मत आयो । नेपालको नयाँ दलको पक्षमा उभार आएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहलाई टेलिफोन गरी बधाई दिए । अनि बालेन प्रधानमन्त्री भएपछि मोदीले फेरि बधाई दिए र भारत नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न तयार रहेको पनि बताए । मोदीले दुई दुई पटक बधाई दिएको भन्दै रास्वपाका नेता कार्यकर्ता हौसिए र रोमाञ्चित पनि भए । यो बीचमा प्रधानमन्त्री बालेन साह भारत भ्रमणमा जाने चर्चा पनि चल्यो । तर भारतले बालेनलाई नभई रवि लामिछानेलाई भारत बोलायो । त्यसपछि रवि जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमणमा गए । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीको निमन्त्रणामा रवि भारत भ्रमणमा गएका हुन् ।

भाजपा पार्टी कार्यालयमा उनको भव्य स्वागत भयो । रवि भाजपा कार्यालय पुग्दा परम्परागत झाँकी र फूलमालासहित उनलाई भाजपा नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए । त्यो देख्दा लाग्थ्यो रविलाई भारतले ठूलो महत्व दिएको छ । यो दृष्य देखेर रास्वपाका नेता कार्यकर्ताले विगतमा नेपालका प्रधानमन्त्री जाँदा भन्दा रविलाई बढी महत्व दिएको टिप्पणी गरे । रविले भ्रमणका क्रममा प्रधानमन्त्री मोदीसँग पनि भेट गरे । भेटमा मोदीले नेपाल र भारतबीचको सहकार्यलाई अझ सुदृढ बनाउन चाहेको बताए । त्यस्तै उनले नेपाललाई भारतको ‘नेबरहुड फस्र्ट’ नीतिअन्तर्गत प्राथमिक साझेदार राष्ट्रका रूपमा उल्लेख गर्दै साझा समृद्धि र उज्ज्वल भविष्यका लागि मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनीहरुबीच विकास कूटनीतिका विषयमा पनि कुराकानी भयो । भ्रमणबाट फर्किँदा रवि उत्साहित देखिन्थे । उत्साहित हुनुपनि स्वाभाविक नै हो । किनकी भारतले रविको भ्रमणलाई ठूलो महत्व दिएको थियो ।

कतिपयले भने भारतले सत्कारले हौसिनु पर्ने अवस्था नरहेको बताएका थिए । जसरी रविको भ्रमणलाई भारतले महत्व दियो व्यवहार भने ठिक उल्टो भएको छ । उनी भारत भ्रमणबाट फर्केको दुई साता नबित्दै भारतले नेपालीको चिया निकासीमा कडाइ गर्नुले त्यो स्पष्ट हुन्छ । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका ५३ चिया उद्योग असार १ गतेदेखि बन्द भएका छन् । रविको भ्रमणका त्यस्तो हार्दिकता देखाएको देशले यसरी नेपाली चिया निकासीमा कसरी कडाइ गर्न सक्छ ?

राजनीतिक विश्लेषक हरि रोका गम्भीर गृहकार्य नभई गरिने भ्रमणले कुनै अर्थ नराख्ने भन्दै भारतको नीति पुरानै रहेको टिप्पणी गरेका छन् । उनी भन्छन्, ’प्रधानमन्त्रीको नेपाल भारतवीच पारस्परिक ’मिचाह’ उद्घोष, सभापतिलाई रेडकार्पेट भव्य स्वागत र विदेशमन्त्रीको सहकार्यको अपार सफलता लगत्तै, ‘भारतको अवरोधमा नेपाली ५३ चिया उद्योग बन्द गर्नुपर्ने अवस्था’ आइलागेछ । याद राखौँ, समस्या चियाको मात्र होइन नेपालबाट भारत र भारत हुँदै तेस्रो देश निकासी गर्ने वस्तुहरु थुप्रैमा भारतीय पक्षले अडचन पुयाइरहेछन् । समस्या के के छन् भन्ने पहिचान नगरी, तिनमा तह तहमा लेनदेन हुँदा के कस्तो निर्णय लिने भन्नेबारे गम्भीर होमवर्क नगरी कुनै भ्रमण सफल हुन्नन। चाहे त्यो राजकीय होस् या सामान्य परराष्ट्रस्तरीय ।’

नेकपा एमालेका नेता प्रदीप ज्ञवाली सरकार गम्भीर नबन्दा यस्तो समस्या आएको बताउँछन् । उनले नेपाल गम्भीर भूराजनीतिक भूमरीतिर धकेलिँदै गएको टिप्पणी गरेका छन् । उनको टिप्पणी छ, ‘आन्तरिक विषयहरूको सामना गरिरहेको बेला हाम्रो ध्यान मुख्य राष्ट्रिय मुद्दाहरूमा केन्द्रित हुनैपर्छ । हामी गम्भीर भूराजनीतिक भूमरीतिर धकेलिँदै गइरहेका छौँ । सीमामा चिया निकासी रोकिँदा हजारौँ श्रमिक र सयौँ उद्यमीहरू सङ्कटमा पर्नुभएको छ । दुई महिना अगाडि वर्वरतापूर्वक लखेटिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीहरू होल्डिङ सेन्टरहरूमा वेवारिसे जस्तै हुनुभएको छ । धान रोप्ने बेला मलको अभाव यथावत् छ । महङ्गी भयावह बनिरहेको छ । तर यी सबै कुरामा बेखबर हाम्रा बिन्दास प्रधानमन्त्री ‘जिस्किँदै’ हुनुहुन्छ र उहाँको ‘देश बनाउने टोली’ व्यवसायीहरूका खुट्टा भाँच्ने धम्की दिँदैछ ।’

अर्का राजनीतिक विश्लेषक डम्बर खतिवडा चिया निकासीको कडाइले भारतीय रवैया स्पष्ट भएको बताउँछन् । उनको भनाई छ, ‘देशका ५३ चिया उद्योग बन्द कारण–भारतको गुणस्तर मापन नीति । बालेनको कसैलाई नभेट्ने नीति कति सफल ? अझ लामिछानेजीको स्वागत भयांकरै हो । शिशिर खनालजीको दौडाहाको त कुरै गर्न परेन । कुटनीति अनाडीले गुलेली खेलाएर मठ्याङग्रा नाश जस्तो हैन । कति राम्रो बनेछ त सम्बन्ध ? देशभित्रका गल्ती बरु क्षमायोग्य होलान्, भूराजनीति निष्ठुर हुन्छ, कहिल्यै माफी गर्दैन । कुटनीतिक शैली अबिलम्ब पुनरावलोकन गर मित्रहरु ! अलि परिपक्क र विश्वासनीय बन !’

चियाँ निकासीमा कडाइ रवि भारत जानुअघि पनि नआएको होइन, तर त्यसबीचमा केही खुकुलो बनाइएपनि अहिले निकासी ठप्प भएको छ । यो समस्या समाधानका लागि प्रधानमन्त्री तहबाटै पहल गर्नुपर्ने हो । तर प्रधानमन्त्रीलाई देश बनाउने टोली भन्दै दुई मन्त्रीलाई दायाँबायाँ राखेर जिस्किएरै बस्न भ्याइनभ्याइ छ । अनि हामीले कुनै देशको भ्रमण गरेर सम्बन्ध सुध्रियो भनेर मख्ख पर्नुको के अर्थ रह्यो त ? यस्तै भयो रविको भारत भ्रमण र भारतको चिया नीति ।