‘गौथली’ को पहिलो गीत ‘आँखा भरी आँसु’


काठमाडौं । नेपाली चलचित्र ‘गौथली’ को पहिलो गीत ‘आँखा भरी आँसु’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा निर्माण पक्षले गीत सार्वजनिक गरेको हो ।

गीतमा कलाकार सिम्रन खड्का र मदनकृष्ण श्रेष्ठ लगायत अरु कलाकार फिचर छन् । गीत सार्वजनिक कार्यक्रममा बोल्दै कलाकार मदनकृष्ण श्रेष्ठले चलचित्रको कथावस्तु पारिवारिक परिवेशसँग जोडिएको बताउँदै दर्शकले मन पराउने विश्वास व्यक्त गरे ।

चलचित्र ‘गौथली’ ले साउन १ गतेलाई प्रदर्शन मिति तय गरेको छ । डा.कपिल रिजालले निर्देशन गरेको चलचित्र दुई दशक अगाडि प्रतिष्ठित चिकित्सक डा. भोला रिजालको कथामा निर्माण भएको चलचित्र ‘गौथली’ को नाम सापटी चलचित्र हो । कपिल उनै भोलाका छोरा हुन् । उक्त समयमा यो चलचित्रले ५१ दिन मनाउन सफल भएको थियो ।

चलचित्रमा नायक अरुण क्षेत्री र सिम्रन खड्काको जोडीलाई पर्दामा देख्न पाइनेछ । दुईको साथमा चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।

वरिष्ठ चिकित्सक डा. भोला रिजालको कथा रहेको यस चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा.कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् । चलचित्रको ‘गौथली’ को प्रतीकात्मक अर्थ घर, परिवार र आपसी सामीप्यतासँग जोडिएको निर्माण पक्षले जनाएको छ ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल हुन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् ।