इलाम । इलामको देउमाई नगरपालिकाले वडा नम्बर ४ स्थित प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेबाट प्रदान हुँदै आएको स्वास्थ्य बीमा सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । नगर कार्यपालिकाको कार्यालयले बुधबार जारी गरेको सूचनाअनुसार स्वास्थ्य बीमा बोर्डको जेठ १२ गतेको परिपत्रबमोजिम जेठ १६ गतेदेखि परिमार्जित सुविधा थैली लागू गर्नुपर्ने भएपछि सेवा सञ्चालनमा समस्या देखिएको हो ।
नगरपालिकाका अनुसार सुविधा थैली अद्यावधिकपछि स्वास्थ्य बीमामार्फत उपलब्ध गराइने औषधि, प्रयोगशाला तथा एक्स–रे सेवाको बीमा सोधभर्ना दर खरिद दरभन्दा कम रहेकाले सेवा प्रवाह गर्न नसकिएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारे सञ्चालन तथा व्यवस्थापन समितिको जेठ २७ गतेको निर्णयअनुसार हाल उपलब्ध हुँदै आएको स्वास्थ्य बीमा सेवा स्थगित गरिएको सूचनामा उल्लेख छ ।
नगरपालिकाले अन्य स्वास्थ्य सेवाहरु भने यथावत सञ्चालन हुने जनाएको छ । नगरपालिकाले सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ ।


प्रतिक्रिया