दुई महिनादेखि पार्टी एकताको लागि इमान्दार प्रयत्न गर्दा पनि खासै कुनै प्रगति भएनः पूर्णबहादुर खड्का


काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले क्रियाशील सदस्यता अद्यावधिक नगरेको निहुँमा १५औँ महाधिवेशनमा कसैले बञ्चित गर्न गराउन नसक्ने बताएका छन् ।

आइतबार राति सामाजिक सञ्जालमार्फत खड्काले पछिल्लो समय पार्टी पंक्तिबाटै अद्यावधिकका लागि भइरहेको दबाब पार्टी जीवनकै लागि घातक रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘विभिन्न सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका विभिन्न भ्रमपूर्ण हल्लाबाट प्रभावित नहुन पार्टीका सबै तहका पदाधिकारी, नेता र क्रियाशील सदस्य साथीहरू सबैमा म प्रष्ट पार्न चाहन्छु ।’

उनले पार्टी एकताका लागि इमान्दार प्रयास गर्दा पनि खासै प्रगति नभएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘सभापति गगन कुमार थापाजीसँग मेरो कुनै पनि प्रकृतिको सम्पर्क–संवाद नभएको आज ३१ दिन भयो । २ महिनादेखि पार्टीको सम्पूर्ण एकताको लागि इमान्दार प्रयत्न गर्दा पनि खासै कुनै प्रगति भएको छैन । अहिले आएर केही दिन यता पार्टीका बारेमा चलाइएका यथार्थ भन्दा फरक हल्ला र विकसित घटनाक्रम बाट म चिन्तित भएको छु । १५ औँ महाधिवेशनका लागि हामीले नविकरण गराएका र नयाँ क्रियाशिल सदस्य साथीहरुलाई अध्यावधिकको नाममा दिइएका दबाबका कुराहरु देशैभरिबाट फोनबाट ४–५ दिनदेखि मलाई साथीहरुले जुन तरिकाले जानकारी गराई राख्नु भएको छ यो प्रवृत्ति पार्टी जीवनका लागि अत्यन्त घातक छ, म सम्बन्धित पक्षको गंभीर ध्यानाकर्षण गराउन चाहन्छु । सबैलाई महाधिवेशनमा स्वतःभाग लिन पाउने ब्यबस्थाको सुनिश्चितता गर्नु हाम्रो जिम्मेवारी हो– ढुक्क हुनुस् । नेताहरुको क्रियाशिल सदस्यता अध्यावधिक स्वतः केन्द्रले गराइदिन्छ भन्ने २ दिन देखि फैलाईएका अफवाहरु पार्टी पङ्तिमा भ्रम पार्न गराइएका हल्ला मात्र हुन् ।’