ईश्वरी हत्या घटनामा ‘नेपाली ब्रो’ सहित अरु तीन जना पक्राउ, अदालतबाट पाँच दिनको म्याद थप


काठमाडौँ । काठमाडौंको तारकेश्वर नगरपालिका–६ पैयुँटारमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा ‘नेपाली ब्रो’ भनिने कुमार थापा मगर पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार जेठ २२ गते राति करिब ९ः३० बजे घरायसी विवादका क्रममा ३८ वर्षीय कुमार थापा मगरले आफ्नै श्रीमतीमाथि चक्कु प्रहार गरेका थिए । गम्भीर घाइते भएकी ईश्वरी भुलेललाई तारकेश्वर सिटी अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि कुमार थापा मगरलाई सोही राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । साथै घटनामा संलग्न रहेको आरोपमा अन्य तीन जनालाई पनि नियन्त्रणमा लिइएको छ ।

पक्राउ पर्नेमा बिक्रम थापा मगर, पुजन थापा क्षेत्री र प्रतिक्षा आचार्य रहेका छन् । उनीहरूविरुद्ध किटानी जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ । काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।