महायोगलाई राष्ट्रिय प्राथमिकताः धार्मिक कूटनीतिबाट समृद्ध नेपाल


-शैलेन्द्रकुमार श्रेष्ठ

देवभूमि, तपोभूमि नेपालः विश्व मानवताका लागि आध्यात्मिक आशाको केन्द्र नेपाल हिमाल, नदी र प्राकृतिक सौन्दर्यको देशसँगै सनातन सभ्यता, ऋषि–मुनि, योगी, सिद्धपुरुष तथा तपस्वीहरूको पवित्र तपोभूमि हो । यही भूमिमा हजारौँ वर्षदेखि वेद, उपनिषद्, ध्यान, योग, तपस्या र ब्रह्मचेतनाको अखण्ड ज्योति प्रज्वलित हुँदै आएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथादेखि भगवान् पशुपतिनाथ, मुक्तिनाथ, रामजानकी मन्दिर जनकपुरधाम, बराहक्षेत्र, चतरा धाम, देवघाट, स्वर्गद्वारी तथा लुम्बिनीसम्म फैलिएको नेपाल केवल भूगोल मात्र होइन, मानव चेतना, आध्यात्मिक ऊर्जा र मोक्षमार्गको जीवित केन्द्र हो । आज विश्व विज्ञान, प्रविधि र भौतिक विकासमा अभूतपूर्व उचाइमा पुगे पनि मानसिक तनाव, अशान्ति, युद्ध, नैतिक संकट, पारिवारिक विघटन तथा आत्मिक रिक्तताबाट ग्रसित छ। यस्तो अवस्थामा नेपालसँग विश्वलाई दिन सक्ने सबैभन्दा ठूलो उपहार भनेको शान्ति, योग, ध्यान, आध्यात्मिक चेतना र मानवकल्याणको जीवनदर्शन हो।

नेपालकै यस पावन भूमिबाट अनन्त श्री विभूषित जगतगुरु महायोगी रामानन्दाचार्य स्वामी रामकृष्णाचार्य सद्गुरुदेवको घोर तपस्याद्वारा करिब २५० वर्षअघि लुप्तप्राय भएको हिमालयन सिद्ध महायोगको पुनर्जागरण भएको हो। हिमालयका गुफा, कन्दरा तथा तपोभूमिहरूमा ऋषिमुनि, साधुसन्त तथा स्वयं भगवान् शिवले साधना गरेको महायोग पुनः जनमानसमा स्थापित भएको मान्यता छ। उहाँ नेपाल आमाका वरदपुत्र, वेद–शास्त्रका ज्ञाता, जडीबुटी विज्ञ, श्रोत्रिय ब्रह्मनिष्ठ महायोगी तथा सनातन आध्यात्मिक परम्पराका सम्मानित सिद्धपुरुषका रूपमा श्रद्धापूर्वक स्मरण गरिनुहुन्छ। उहाँको तपस्या, योगसाधना तथा आध्यात्मिक अभ्याससँग सम्बन्धित विभिन्न घटनाहरूले धेरै साधक तथा श्रद्धालुहरूमा गहिरो आस्था र विश्वास जगाएको छ। साधक तथा अनुयायीहरूले यस्ता घटनाहरूलाई महायोगको साधनात्मक शक्तिको उदाहरणका रूपमा प्रस्तुत गर्ने गरेका छन्। यस्ता असाधारण दाबीहरू वैज्ञानिक समुदायका लागि पनि अनुसन्धान र अध्ययनका विषय बन्न सक्ने क्षेत्रका रूपमा हेरिएका छन् ।

हिमालयन सिद्ध महायोगलाई ’योगको पनि योग’ अथवा ब्रह्मयोगका रूपमा व्याख्या गरिन्छ। यसलाई केवल शारीरिक व्यायाम वा आसनको अभ्यासका रूपमा होइन, चेतना जागरण, आत्मबल, मानसिक शान्ति, आत्मकल्याण तथा जीवन रूपान्तरणको माध्यमका रूपमा हेरिन्छ।आज विश्वमा मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, आन्तरिक सन्तुलन र जीवनको गहिरो अर्थ खोज्ने प्रवृत्ति तीव्र रूपमा बढिरहेको छ। यही कारण योग, ध्यान र आध्यात्मिक जीवनशैलीप्रतिको आकर्षण निरन्तर विस्तार भइरहेको छ।यस परिवेशमा महायोगलाई स्वस्थ, सफल र सन्तुलित जीवनका लागि एउटा सम्भावित आध्यात्मिक आयामका रूपमा प्रस्तुत गर्न सकिन्छ। यदि योग, ध्यान र आत्मिक चेतनाको माध्यमबाट व्यक्तिको मनमा शान्ति स्थापना गर्न सकियो भने त्यसले परिवार, समाज र अन्ततः विश्वशान्तिको आधार निर्माण गर्न पनि सहयोग पुर्याउन सक्छ।

आधुनिक अन्तर्राष्ट्रिय सम्बन्धमा केवल सैन्य वा आर्थिक शक्ति मात्र प्रभावको आधार हुँदैन। संस्कृति, अध्यात्म, धर्म, शिक्षा र सभ्यताबाट उत्पन्न प्रभावलाई आज ‘सफ्ट पावर’ का रूपमा बुझिन्छ । मित्रराष्ट्र भारतले योगलाई विश्वव्यापी पहिचान दिलाउँदै अन्तर्राष्ट्रिय स्तरमा प्रभावशाली सांस्कृतिक शक्ति बनाएको छ। जापानले आफ्नो संस्कृति र दक्षिण कोरियाले कला तथा मनोरञ्जनमार्फत विश्वव्यापी प्रभाव विस्तार गरेको छ।

त्यसैगरी नेपालले बुद्धको भूमि, पशुपतिनाथ, मुक्तिनाथ, बराहक्षेत्र, जनकपुरधाम, देवघाट, स्वर्गद्वारी, लुम्बिनी तथा हिमालयको तपोभूमिलाई अन्तर्राष्ट्रिय पहिचानको आधार बनाउन सक्छ। यदि नेपालले धार्मिक कूटनीतिको माध्यमबाट विश्वका सन्त, महात्मा, जगतगुरु, योगाचार्य, अनुसन्धानकर्ता तथा आध्यात्मिक पर्यटकहरूलाई नेपालसँग जोड्न सक्यो भने यसले अन्तर्राष्ट्रिय सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउन सक्छ।

हिमालयन सिद्ध महायोगप्रति अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, भारत तथा युरोपका विभिन्न देशहरूमा आकर्षण बढ्दै गएको छ। विभिन्न देशहरूमा महायोगसँग सम्बन्धित आध्यात्मिक केन्द्र, साधना समूह तथा कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

यसले नेपालमा विकसित आध्यात्मिक परम्परालाई विश्वसँग जोड्ने अवसर सिर्जना गरेको छ। यदि राज्य, पर्यटन क्षेत्र तथा हिमालयन सिद्ध महायोग आध्यात्मिक प्रतिष्ठानबीच प्रभावकारी समन्वय र सहकार्य हुन सकेमा महायोग धार्मिक पर्यटन, जडीबुटी प्रवद्र्धन, सांस्कृतिक आदानप्रदान, अन्तर्राष्ट्रिय प्रतिष्ठा तथा आर्थिक समृद्धिको आधार बन्न सक्छ। नेपालका पवित्र तीर्थस्थलहरूलाई एकीकृत धार्मिक पर्यटन मार्गका रूपमा विकास गर्न सकिन्छ । पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधामको जानकी मन्दिर, बराहक्षेत्र,चतरा धाम, देवघाट, स्वर्गद्वारी, लुम्बिनी धामहरूलाई हिमालयन सिद्ध महायोग, योग–ध्यान केन्द्र, आयुर्वेद, जडीबुटी अनुसन्धान तथा आध्यात्मिक अध्ययनसँग जोड्न सकियो भने नेपाल विश्वकै प्रमुख धार्मिक तथा वेलनेस गन्तव्य बन्न सक्छ।

विश्व स्वास्थ्य तथा वेलनेस उद्योग (Wellness Industry) को आकार खर्बौँ डलर बराबर पुगिसकेको छ । मानिसहरू स्वस्थ जीवन, मानसिक शान्ति, योग, ध्यान, प्राकृतिक उपचार तथा आध्यात्मिक अनुभवका लागि विश्वभर यात्रा गरिरहेका छन् । नेपालले योग तथा ध्यान केन्द्र, अन्तर्राष्ट्रिय साधना आश्रम,आयुर्वेद तथा जडीबुटी अनुसन्धान केन्द्र, हिमालयन वेलनेस रिट्रिट, आध्यात्मिक विश्वविद्यालय जस्ता कार्यक्रमहरू विकास गर्न सके धार्मिक पर्यटनलाई आर्थिक समृद्धिको बलियो आधार बनाउन सक्छ।

हिमालयन सिद्ध महायोगसँग जोडिएको गुरुकुल शिक्षा अवधारणाले आधुनिक शिक्षा र सनातन संस्कारबीच समन्वय गर्ने प्रयास गरेको छ । अनुशासन, नैतिकता, आत्मविश्वास, संस्कार, राष्ट्रप्रेम तथा जिम्मेवारीबोधयुक्त नागरिक निर्माण गर्नु कुनै पनि राष्ट्रको दीर्घकालीन विकासको आधार हो, जुन उद्देश्यतर्फ हिमालयन सिद्ध महायोग आध्यात्मिक प्रतिष्ठानले प्रयास गरिरहेको देखिन्छ। आधुनिक विज्ञान, सूचना प्रविधि र आध्यात्मिक शिक्षाको सन्तुलित समन्वयले भावी पुस्तालाई केवल सक्षम मात्र होइन, नैतिकवान्, चरित्रवान् तथा जिम्मेवार नागरिक बनाउने दिशामा केन्द्रित हुन सक्छ।

आजको आवश्यकता कुनै धार्मिक आस्थाको प्रचार मात्र होइन, नेपालको सांस्कृतिक र आध्यात्मिक सम्पदालाई राष्ट्रिय विकासको आधारका रूपमा रूपान्तरण गर्नु हो । महायोगलाई राष्ट्रिय योग को रूपमा औपचारिक मान्यता प्रदान गर्ने र राष्ट्रिय योग अभियानका रूपमा स्थापित गर्दै धार्मिक कूटनीति, आध्यात्मिक पर्यटन, योग, ध्यान तथा वेलनेस–केन्द्रित कार्यक्रमहरूलाई राष्ट्रिय प्राथमिकतामा राख्न आवश्यक छ।

भारत, अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा लगायत विभिन्न देशहरूमा हिमालयन सिद्ध महायोगप्रति बढ्दो आकर्षणले नेपालका लागि नयाँ अवसर सिर्जना गरिरहेको छ। यस अवसरलाई राष्ट्रिय हितसँग जोड्न अन्तर्राष्ट्रिय सन्त सम्मेलन, विश्व धर्मगुरु सम्मेलन, अन्तरधार्मिक संवाद कार्यक्रम तथा विश्वशान्ति सम्मेलनहरू नियमित रूपमा आयोजना गर्नुका साथसाथै विभिन्न देशका सन्त, महात्मा, योगाचार्य, अनुसन्धानकर्ता तथा आध्यात्मिक पर्यटकहरूलाई नेपाल भ्रमणका लागि आकर्षित गर्ने योजनाहरू सञ्चालन गर्न सकिन्छ। यस्ता पहलहरूले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नुका साथै नेपाललाई आध्यात्मिक संवाद, सांस्कृतिक सहकार्य र विश्वशान्तिको तटस्थ तथा सम्मानित केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउन सक्छन् ।

नेपालसँग हिमालय, बुद्धभूमि, पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम, बराहक्षेत्र, चतरा धाम, देवघाट, स्वर्गद्वारी र लुम्बिनीजस्ता अनुपम आध्यात्मिक तथा सांस्कृतिक सम्पदा छन् । यही भूमिमा योग र तपोबलका माध्यमबाट बिना अक्सिजन तथा बिना भोजनसमेत कैयौँ दिनसम्म जीवनयापन गर्न सक्ने महायोगी सिद्ध पुरुषको परम्परा सम्पूर्ण विश्वसामु जीवित उदाहरणको रूपमा रहेको छ। यस्ता महायोगीको दर्शन र आशीर्वाद प्राप्त गर्न अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, भारत लगायत विभिन्न देशबाट श्रद्धालुहरू नेपाल आउने गर्छन्। यही तपोभूमिले योग, ध्यान, तपस्या र सनातन जीवनदर्शनको हजारौँ वर्ष पुरानो गौरवशाली विरासतलाई आज पनि निरन्तरता दिइरहेको छ ।

यदि नेपालका यिनै आध्यात्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरूलाई हिमालयन सिद्ध महायोग, धार्मिक कूटनीति, वेलनेस पर्यटन तथा अन्तर्राष्ट्रिय आध्यात्मिक सञ्जालसँग जोडेर दूरदर्शी राष्ट्रिय नीति निर्माण गर्न सकियो भने नेपाल साहसिक पर्यटनको देश मात्र नभई विश्वशान्ति, विश्वस्वास्थ्य, आध्यात्मिक चेतना र मानवकल्याणको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुन सक्छ।
महायोगलाई राष्ट्रिय योग अभियानका रूपमा मान्यता दिई योजनाबद्ध रूपमा अघि बढाउन सकियो भने धार्मिक पर्यटन, अन्तर्राष्ट्रिय प्रतिष्ठा र आर्थिक समृद्धिका नयाँ ढोका तथा सम्भावनालाई खोल्ने छ।परिणामस्वरूप नेपालको आर्थिक समृद्धि, अन्तर्राष्ट्रिय प्रतिष्ठा र राष्ट्रिय आत्मविश्वासलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण योगदान पुग्न सक्छ।

(श्रेष्ठ सशस्त्र प्रहरी बलका पूर्वप्रमुख हुन् भने करिब डेढ दशकदेखि विभिन्न सामाजिक कार्यहरूमा सक्रिय रहँदै आएका छन् )