काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आयोजना गरेको बुद्धिचाल प्रतियोगितामा पाँच देशका २२६ जना खेलाडी प्रतिस्पर्धामा रहेका छन्।
कामपा वडा २४ को आयोजना नविन्द्रराज जोशी स्मृति तेस्रो फिडे र्यापिड (१९०० मुनि) चेस टुर्नामेन्ट सुरु गरेको खेलमा पाँच देशका २२६ सहभागी रहेको बताइएको छ।
धर्मपथमा रहेको सांस्कृतिक द्यः छेँमा खेल सुरु भएको हो। खेलको शुभारम्भ गर्दै वडा नं २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीले, महानगरपालिका घोषणा हुँदाका उपप्रमुख स्वर्गीय नविन्द्रराज जोशीको व्यक्तित्वमाथि चर्चा गर्दै उनको योगदानलाई चीरस्मरणीय बनाइराख्न जोशीका नामबाट प्रतियोगिता थालिएको बताए।
वडाले विश्व बुद्धिचाल महासङ्घ, एशियन चेस फेडरेसन र नेपाल चेस फेडरेसनसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो।
खेल, स्वीस सिस्टममा आधारित अर्थात् एक जना खेलाडीले नौ जना खेलाडीसँग प्रतिस्पर्धा गरेर उच्च अङ्क प्राप्त गर्ने खेलाडी विजेता हुने प्रणालीमा खेलाइँदै छ। यसमध्ये शुक्रबारसम्ममा पाँच चरणमा खेल सम्पन्न भएको छ।
यी चरणमा काठमाडौँका सिएम भगवतीप्रसाद शर्मा र दीपक महर्जन, मोराङ्का उमेश राई र मकवानपुरका फुर्वा लामाले पाँचवटै खेल जितेर शीर्ष स्थानमा रहनुभएको प्रमुख निर्णायक (इन्टरनेशनल आर्बिटर) ज्ञानेन्द्र खाइजुले जानकारी दिए।
खाइजुका अनुसार स्वीस लिग प्रणालीमा हरेक जितका लागि खेलाडीले १ नम्बर प्राप्त गर्नेछन्। बराबर भयो ०.५ अंक प्राप्त हुनेछ।
प्रतियोगितामा नेपाल, भारत, अमेरिका, बेलायत र फ्रान्सका एक जना गरी २२६ जना खेलाडी सहभागी छन्। नेपालका ४८ जिल्लाबाट खेलाडी सहभागी भएका छन्। उमेरका हिसाबले नौ वर्षका सुवाङ्ग प्रधानदेखि ८० वर्षका भेट्रान खेलाडी सीताराम अग्रवाल प्रतिस्पर्धामा हुनुहुन्छ । प्रतिस्पर्धामा १५ जना महिला रहेका छन्।
काठमाडौँ बाहिरबाट प्रतिस्पर्धाका लागि आएका खेलाडीलाई वडा कार्यालयले दुई रातको आवासीय सुविधा उपलब्ध गराएको छ।

प्रतिक्रिया