कांग्रेस कास्की–१ ‘क’ को सभापतिमा नरेन्द्र थापा ‘नरेन’ सर्वसम्मत


पोखरा । पोखरा महानगरपालिका–२६ का वडाध्यक्ष नरेन्द्र थापा ‘नरेन’ नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ प्रदेशसभा ‘क’ को सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भइरहेको अधिवेशनबाट थापा प्रदेशसभा क्षेत्रीय सभापतिमा सर्वसम्मत चयन भएका हुन्।

यसअघि कास्की क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गरेका थापाले प्रदेशसभा क्षेत्रको नेतृत्वमा सर्वसम्मति जुटेपछि क्षेत्रीय सभापतिको प्रतिस्पर्धाबाट पछि हटेका हुन्। कास्की–१ ‘क’ को सभापतिका लागि ध्रुव न्यौपाने, नारायणकुमार श्रेष्ठ, शिवराज अधिकारी र मुराहरि कोइरालासमेत आकांक्षी थिए। उनीहरूबीच थापालाई नेतृत्व दिने सहमति जुटेपछि उनी सर्वसम्मत सभापति बनेका हुन्।

थापा हाल पोखरा महानगरपालिका–२६ का वडाध्यक्ष हुन्। उनले पोखरा महानगरपालिकाको पूर्वाधार विकास समितिको सभापतिको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन्। यसअघि कास्की–१ को क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गर्दा उनले निष्ठावान् कार्यकर्ताको मूल्याङ्कन, युवा पुस्ताको सशक्त सहभागिता र अग्रजको सम्मानलाई प्राथमिकतामा राखेर पार्टी संगठनलाई थप गतिशील, एकताबद्ध र भरोसायोग्य बनाउने प्रतिबद्धता सार्वजनिक गरेका थिए।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका रूपमा सक्रिय थापाको नाम आगामी स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरका सम्भावित आकांक्षीका रूपमा समेत चर्चामा आएको छ। उनले पोखराको नेतृत्व गर्न आफू तयार रहेको सार्वजनिक रूपमा बताउँदै आएका छन्। फेवाताल किनारमा कोटीहोम आयोजना गर्ने विषयमा देखिएको विवाददेखि फिर्के खोला तथा बसपार्क क्षेत्रमा महानगरले अघि बढाएका संरचना व्यवस्थापनका काममा समेत थापा सक्रिय देखिएका थिए।

कास्की–१ को प्रदेशसभा क्षेत्र ‘क’ मा सर्वसम्मत नेतृत्व चयन भए पनि प्रतिनिधिसभा क्षेत्रीय सभापतिमा भने प्रतिस्पर्धा हुँदैछ। थापा प्रदेशसभा क्षेत्रको नेतृत्वमा गएपछि क्षेत्रीय सभापतिका लागि सरोज केसी, ओमप्रकाश गुरुङ र अप्सरा श्रेष्ठ प्रतिस्पर्धामा छन्। उनीहरूबीच मतदान हुँदैछ।

कास्की–१ को प्रदेशसभा क्षेत्र ‘ख’ मा पनि नेतृत्वका लागि प्रतिस्पर्धा छ। त्यस्तै, कास्की क्षेत्र नम्बर २ र ३ मा समेत क्षेत्रीय नेतृत्वका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ। कास्की–३ को क्षेत्रीय सभापतिमा प्रदेशसभा सदस्य प्रकाश बराल र विष्णुबहादुर क्षेत्रीबीच प्रतिस्पर्धा रहेको छ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यतालिकाअनुसार यसअघि असोज १० गतेका लागि तय गरिएको क्षेत्र तथा प्रदेशसभा क्षेत्रीय अधिवेशन भारी वर्षाका कारण असोज १२ गतेका लागि सारिएको थियो। यसअघि कास्कीमा असोज ३ र ४ गते वडा तह तथा असोज ७ गते स्थानीय तहका अधिवेशन सम्पन्न भएका थिए। क्षेत्रीय अधिवेशनबाट क्षेत्र तथा प्रदेशसभा क्षेत्रका पदाधिकारी र सदस्यसँगै महाधिवेशन प्रतिनिधिसमेत चयन हुनेछन्।