विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापाले सदस्यता नवीकरणमा अवरोध गर्नेहरूलाई जिम्मेवारीबाट हटाइने बताएका छन् ।
शनिबार विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा सभापति थापाले पार्टीको विधानअनुसार नचल्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । उनले भने, ‘कुनै पनि तहबाट कसैले पनि सदस्यता अद्यावधिकमा अवरोध सिर्जना गर्नुभयो भने पार्टीको विधान अनुसार साथीलाई ‘धन्यवाद’ भनेर मैले अर्को साथीलाई जिम्मेवारी दिन्छु ।’
उनले पार्टीका सबै संयन्त्रहरू सहमति र सल्लाहकै आधारमा बनाउन आफू तयार रहेको बताए । उनले भने, ‘पार्टीको सदस्यता व्यवस्थापन समिति पनि सल्लाहले बनाउने, पार्टीको अनुशासन समिति सल्लाहले बनाउने, पार्टीको निर्वाचन समिति सल्लाहले बनाउने, चाहेको जति नेताहरू पार्टीको केन्द्रीय समितिभित्र आएर बस्ने वातावरण बनाउने भनिसकेपछि अब कि त अनुहार मन पर्दैन भन्नुपर्यो, त्योभन्दा बाहेक बाँकी रहेको भन्ने ठाउँ चाहिँ केही पनि छैन।’

प्रतिक्रिया