बन्द होस् महावीरको बजारीकरण !


नारायण पौडेल।

साधारणजस्तो देखिन सक्ने महावीर पुनको असाधरण खुबीको म प्रसंशक हुँ । उनी सोझो पाराले यस्तो चाल चल्छन् कि वाचालहरुपनि चित खान्छन् । चुनावी सरकारका मन्त्री एकपछि अर्को गर्दै चुनावमै हाम फाले, रेफ्री नै बल लिएर दौडे जसरी । उनीहरुलाई अवसरवादी र कर्तव्यच्युतको बात लाग्यो । तर, चुनावी आचारसंहिता लागू भइसकेपछि उम्मेदवार मनोनयन शुरु हुनै लाग्दा उम्मेदवारी घोषणा गरेका महावीरलाई अवसरवादको आरोप लागेन । उनी अध्यादेश ल्याउन नपाएको असन्तुष्टिलाई आफ्नो उम्मेद्वारीको कारण बनाउन सफल दरिए, जवकी चुनावी सरकारले उनले भनेजस्तो अध्यादेश ल्याउन सक्दैनथ्यो ।
स्वतन्त्ररुपमा उम्मेदवारी दिए तर राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन जुटाउन सफल रहे । सोझो महावीर पुनलाई सबथोक परि परि आएको भन्ठान्नु होला । नविर्सनु, महावीर पुनले बाठो भनिएको निकोलस भुसाललाई हकार्दै थिए– तिम्रो तरिका मिलेन, यसरी हुँदैन । तरिका कसरी मिल्छ, कसरी तरक्की गर्न सकिन्छ भन्ने ज्ञान नभइ निकोलसको तरिका निको पार्न महावीर किन हौसन्थे ?

महावीर चतुर सेल्सम्यान हुन् । उनी जे गर्छन्, त्यसलाई ब्राण्डिङ गर्न सक्छन् । म्याग्दीमा वाइफाइ जोडेको कुरालाई अन्तर्राष्ट्रियकरण गर्न सफल रहे । पुस्तक लेखे, पुस्तक बिक्री गर्ने अनौठो शैली अपनाए । सम्भवतः सर्वाधिक बिक्री हुने नेपाली पुस्तक उनैको हो । उनले यो पुस्तकलाई आविष्कार केन्द्रको उत्थानमा प्रयोग गर्ने भनि ब्राण्डिङ गरिररहेका छन् । सो ब्राण्डिङले सेल्सलाई अभूतपूर्वरुपमा बुष्ट गर्यो । दुधे बालक ढाडमा बोक्दै काइँयो बेचेर जिविका चलाउने आमालाई शहरीया सडकले पचाएन, तर अग्रिम प्रचारसहित भीडमभाड गरेर कराउँदै अरुलाई लोपर्दै पुस्तक बेच्ने महावीरलाई त्यही सडकले सदा सत्कार गरिरह्यो ।

पुस्तक प्रकाशित हुनु अघिसम्म महावीर सरकारी सहयोगको याचना गर्दै मन्त्रालय धाइरहेका थिए । राजनीतिक पहुँच नभएकाले सहयोग नपाइएको उनको आरोप थियो । जब उनको राजनीतिक पहुँच स्थापित भयो, आफैं निर्णय गर्ने ठाउँमा पुगे । उनले सायदै आविष्कार केन्द्र बारे केही आर्थिक प्रस्ताव गरे । बरु मन्त्री बने, सांसद उठे । उनले मलाई सांसद मन्त्री चाहिएन, आविष्कार केन्द्र चलाउने वातावरण बनाइदेउ भन्न सक्थे । भनेनन् । अहिले पनि पुस्तक बेचेरै आविश्कार केन्द्र बनाउने भन्दैछन् ।

नेपाली बजारमा पुस्तक बेचेर उनको आत्मकथा फैलिएला, थोरबहुत पैसा जम्मा होला तर आबिष्कार केन्द्रको आधार तयार हुँदैन । नारायणीमा चल्ने स्ट्रिमरलाई पानीजाहाज भनेजस्तै ग्यारेज वा असेम्बल सेन्टरलाई आविष्कार केन्द्र मान्ने हो भने बेग्लै कुरा । आविष्कार केन्द्रका लागि अरबौंको बजेट चाहिन्छ जस्का लागि राज्य, आमनेपाली वा विनोद चौधरीहरुले चौडा छाती गर्न सक्नुपर्छ । आजका दिन ‘मलाई आविष्कार केन्द्रमा केन्द्रित हुन देउ’ भनेदेखि महावीरलाई महासहयोग जुट्ने देखिन्छ तर महावीर आफ्नै आत्म कथामा केन्द्रित छन् । सेल्फलेस पनि देखिने, आफ्नो स्टोरी सेल्स गर्न पनि पाइने ट्रिक सायदै कसैले जानेको होस् ।

महावीर पुन ख्याल ख्यालमै खतरनाक कुरा गर्न सिपालु छन् । देशहरुको पनि आयु हुन्छ, देश बिलुप हुने कुरा सामान्य हुन्छ भनेर बोले । केही विद्वानले उनको कुरा खण्डन गरेपछि महावीरले प्रतिकार गर्दै प्रष्टिकरण दिए– ‘भारत, पाकिस्तान, सोभियत संघ टुक्रेकै हुन् । यि विद्वान भनिएकाहरुलाई इतिहासै थाह छैन ।’ ति देशहरु विभिन्न देश जोडिएर बनेका हुन्, तिनको इतिहास छोटो छ । तर, नेपालको इतिहास आदिम सभ्यतासँगै शुरु भएको हो । नेपालको संविधानले नेपालको विलय वा विखण्डनको कल्पना पनि गर्दैन । तर, त्यही संविधानको सपथ खाएको व्यक्तिले देश विभाजनलाई सामान्य प्रक्रियाका रुपमा अर्थाउककछ । लाखौं फ्यान फ्लोइङ रहेका महावीरको अभिव्यक्तिलाई समाजले सामान्यरुपले लिइदिन्छ । जबकी यस्तै अभिव्यक्तिका कारण विगतमा मन्त्री पदमुक्त भएका थिए, सर्वत्र आलोचना भएको थियो । होइन, जोखिम देखेर ह्विसल ब्लोइङ गरेका हुन् भने प्रष्ट भनिदिए सबै सचेत हुनेथिए ।

शिक्षा मन्त्री हुँदै उनले महिनौं ननुहाएको बताए । उनले नियमित नुहाइधुवाइ आवश्यक नरहेको सन्देश प्रवाह गरे । समाजले उनको पारालाई पचायो पनि । उनको मन्त्रालय मातहतका शिक्षक शिक्षिका विद्यार्थीलाई नियमितरुपमा नुहाइधुहाइ गर्नुपर्छ भनेर पढाए होलान् कि शिक्षा मन्त्रीकै शैली ठीक भनेर उल्काए होलान् ? चिकित्साशाश्त्र पढेकी उनकी छोरीको ज्ञानले नियमित नुहाइधुवाईं आवश्यक देख्दो हो कि नाई?

नेपालको दूरदराजमा दुई दशक अघि नै नेटवर्किङ गरेका महावीर अल्गोरिदममा अभ्यस्त पात्र हुन् । यिनलाई के कन्टेन्ट विक्छ भन्ने राम्रो जानकारी छँदैछ । उनी आफूलाई संजालमा सजाइरहेका छन् । तर यो संजालको जाल यति खतरनाक छ कि प्रौढ बैज्ञानिक महावीरलाई समेत भेलु बाजे झैं बजारीकरण गरिदिन्छ ।

राष्ट्रका यि महावीरको उत्तरार्ध जीवन उनकै विज्ञ क्षेत्रमा लगानी भए कति उत्तम हुने थियो । संसद र मन्त्रालयको गोलचक्करमा नलागी यिनी अनुसन्धानमै केन्द्रित हुने वातावरण बनाइदेउ सरकार । अर्ब छुट्टाइदेउ, बजेटको अभाव नहोस् तर बिद्वानको सस्तो बजारीकरण बन्द गराइदेउ ! फेसबुकबाट कति पैसा आउला, किताब बजेर कति आयो भन्ने बिक्रेताजन्य चिन्ताबाट महावीरलाई दूर गरिदेउ । महावीरले बजारमा जति बिजोग देखाउँछन्, आमरुपमा राज्यप्रति वितृष्णा उत्तिना फैलिरहनेछ । तसर्थ महावीरलाई आश्वस्त गराइदेउ सरकार– आविष्कार केन्द्र अब दूर नही !