रोयटर्स । स्पेस एक्सले आफ्नो आईपीओ फाइलिङ सार्वजनिक गर्दै कम्पनीको कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा भइरहेको ठूलो घाटा र इलोन मस्कको कडा नियन्त्रणबारे खुलासा गरेको छ ।
फाइलिङअनुसार स्पेसएक्सले रकेट निर्माण कम्पनीबाट एआई केन्द्रित प्रविधि कम्पनीमा रूपान्तरण हुने महत्वाकांक्षी योजना अघि सारेको छ । कम्पनीको भविष्य मंगल अभियानदेखि अन्तरिक्षमा आधारित एआई डाटा सेन्टरजस्ता अझै विकास हुन बाँकी प्रविधि र बजारमा निर्भर रहेको उल्लेख गरिएको छ ।
स्पेसएक्सको सम्भावित सूचीकरण अमेरिकी इतिहासकै पहिलो एक ट्रिलियन डलरभन्दा बढी मूल्यांकन भएको बजार प्रवेश बन्न सक्ने अनुमान गरिएको छ । यससँगै कम्पनी विश्वकै सबैभन्दा मूल्यवान सार्वजनिक कम्पनीमध्ये एक बन्ने अपेक्षा गरिएको छ ।
कम्पनीका तीन विभागमध्ये उपग्रह इन्टरनेट सेवा स्टारलिंकमार्फत सञ्चालित कनेक्टिभिटी विभाग मात्रै चालु वर्षको पहिलो त्रैमासिकमा नाफामा देखिएको छ ।
स्टारलिंकले १ अर्ब १९ करोड डलर सञ्चालन नाफा कमाए पनि कम्पनीको कुल ४ अर्ब ६९ करोड डलर आम्दानीमा १ अर्ब ९४ करोड डलर सञ्चालन घाटा भएको जनाइएको छ । एआई विभागले मात्रै ८१ करोड ८० लाख डलर आम्दानीमा २ अर्ब ४७ करोड डलर घाटा व्यहोरेको उल्लेख छ ।
गत फेब्रुअरीमा मस्कले आफ्नो एआई कम्पनी एक्सएआई खरिद गरेपछि स्पेसएक्सको खर्च उल्लेखनीय रूपमा बढेको फाइलिङमा देखिएको छ । पहिलो त्रैमासिकमा कम्पनीको कुल १० अर्ब १० करोड डलर पूँजीगत खर्चमध्ये ७६ प्रतिशत एआईसम्बन्धी क्षेत्रमा खर्च भएको बताइएको छ ।
फाइलिङअनुसार कम्पनीले भविष्यमा अन्तरिक्षमा सौर्य ऊर्जाबाट सञ्चालित डाटा सेन्टर स्थापना गर्ने योजना बनाएको छ । स्पेसएक्सले यस्तो सम्भावित बजारको आकार २८.५ ट्रिलियन डलरसम्म पुग्न सक्ने अनुमान गरेको छ ।

प्रतिक्रिया