सुनसरी । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आईसकेपछि स्थानीय सरकारको महत्व र गरिमा व्यापक र गहन भएको बताएका छन् ।
सुनसरीको कोशी गाउँपालिकामा निर्माण भएको लौकही सिटी हलको बुधबार उद्घाटन गर्दै उनले जनताका न्यूनतम आधारभूत आवश्यकता, तथा जनचाहना अनुरुप विकासका कार्यलाई तीव्रता दिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यता र आदर्श अनुरुपका कामलाई साकार बनाउन स्थानीय तहले सदैव दत्तचित्त र क्रियाशील हुनुपर्ने बताए ।
राष्ट्रपति पौडेलले भने,‘शान्ति, विकास र सुशासनको माध्यमबाट नै जनताको हित र चाहनासँगै संविधान र शासनप्रणालीले राखेको उद्देश्य पूरा हुन्छ । यसतर्फ तपाईँहरूले विशेष ध्यान दिनुहुनेछ भन्ने मैले आशा राखेको छु ।’
राष्ट्रपति पौडेलले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको उल्लेख गर्दै जनअपेक्षा अनुरुप सेवा प्रवाह गर्नु, सुविधा उपलब्ध गराउनु तथा विकासका कार्यहरू सञ्चालन गर्नु स्थानीय सरकारको महत्वपूर्ण दायित्व भएको बताए ।
उनले भने, ‘यसै सन्दर्भमा यो ग्रामिण क्षेत्रमा यस्तो आधुनिक तथा बहुउपयोगी सिटी हलको निर्माण हुनु निकै सराहनीय छ । यो परियोजना विकासमा तिनै तहको सरकारबिच हुने सहकार्यको राम्रो उदाहरण पनि हो ।’
उनले सप्तकोशी नदीको किनारमा रहको कोशी गाउँपालिका ऐतिहासिक एवम् धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण ठाउँ भएको उल्लेख गर्दै हाल कोशी गाउँपालिकामा पर्ने सप्तकोशी नदीको कुशाहाघाटमा प्रजातन्त्र प्राप्तिका लागि क्रान्ति भएकोले यो ठाउँको सम्बन्ध प्रजातान्त्रिक आन्दोलनसँग जोडिएको इतिहासको स्मरण गरे ।

प्रतिक्रिया