सुकुम्बासीको दीर्घकालीन व्यवस्थापनका लागि ठोस योजना ल्याउन सरकारसँग एमालेको माग


काठमाडौं । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले सरकारले सुकुम्बासीमाथि अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद बरालले सरकारले पर्याप्त तयारी र भरपर्दो बसोबासको व्यवस्था नगरी सुकुम्बासीलाई उनीहरू बसोबास गरिरहेको स्थानबाट हटाएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले तीन महिनासम्म प्रतिपरिवार १५/१५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय व्यावहारिक नभएको बताए । ‘पाँच जनाको परिवारलाई हिसाब गर्दा प्रतिव्यक्ति दैनिक करिब एक सय रुपैयाँ मात्रै पर्छ । यस्तो रकमले काठमाडौं आसपासमा कसरी जीवनयापन सम्भव हुन्छ ? एक दिनको १०० रुपैयाँले एक परिवार काठमाडौं कसरी बाँच्न सक्छ ?’

सांसद बरालले सरकारको कदमलाई सुकुम्बासीमाथि गरिएको ‘ठूलो अमानवीय हमला’ को संज्ञा दिए । उनले अस्थायी बसोबासका लागि सरकारले दिने भनेको २५ हजार रुपैयाँले समस्या समाधान नहुने उल्लेख गर्दै भने, ‘उनीहरू जहाँ बसिरहेका थिए, त्यही नै उनीहरूको अस्थायी बसोबास थियो । अब स्थायी व्यवस्थापन गर्नुपर्ने बेला सरकारले जबरजस्ती हटाएको छ ।’

उनले सुकुम्बासीको दीर्घकालीन व्यवस्थापनका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने माग समेत गरे ।