काठमाडौँ । नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री रूपान्तरणलाई मुख्य प्राथमिकतामा राखेर आगामी तीन वर्षका लागि रणनीतिक योजना सार्वजनिक गरेको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालमा मंगलबार कार्यक्रमको आयोजना गरी प्रहरी सङ्गठनलाई अझै सक्षम, उत्तरदायी र भरोसायोग्य संस्थाका रूपमा स्थापित गर्ने लक्ष्यका साथ रणनीतिक योजना सार्वजनिक गरेको हो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रविधिको अधिकतम प्रयोग गरी जनतालाई छिटोछरितो सेवा गर्ने लक्ष्यका साथ २०८३/८५ रणनीतिक योजना अगाडि सारिएको बताए ।
रणनीतिक योजना केवल कागजमा सीमित नभई यसको सफल कार्यान्वयनमा सम्पूर्ण प्रहरी अधिकारी प्रतिबद्ध हुनुपर्ने उनले बताए । “हाम्रो मुख्य उद्देश्य नागरिकको विश्वास जित्नु हो, प्रविधिको अधिकतम प्रयोग गरी जनतालाई छिटो र छरितो सेवा दिनु हो,” उनले भने ।
प्रहरी महानिरीक्षक कार्कीले उक्त रणनीतिक योजनाले नेपाल प्रहरीलाई दक्षिण एसियाकै एक उत्कृष्ट र भरपर्दो सुरक्षा निकायका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे । योजनाले नेपाल प्रहरीलाई समयसापेक्ष आधुनिक र नागरिकमैत्री बनाउने लक्ष्य राखेको उनले बताए ।
रणनीतिक योजनाको मुख्य विषय ‘चुस्त प्रहरी सेवा–सुरक्षित समुदाय’ रहेको छ । उक्त रणनीतिमा सातवटा रणनीतिक क्षेत्र, ३६ वटा रूपान्तरणकारी रणनीति र ९९ वटा मुख्य कार्यक्रम समेटिएका छन् ।
उक्त रणनीतिको अल्पकालीन लक्ष्यमा नीतिगत र कानुनी सुधार, समुदाय प्रहरी सहकार्य संस्थागत र सुदृढ, समस्या र पूर्वानुमानमा आधारित रोकथाम र नियन्त्रण प्रणाली, जनशक्तिको सेवा विशिष्टीकृत, अपराध अनुसन्धान र प्रहरी कार्यका विशिष्टीकरण र आधारभूत क्षमता स्थापना प्रहरी प्रशासन र सेवा प्रवाहका प्रणालीको कार्यदक्षता र कार्य प्रभावकारितामा सुधार समेटिएका छन् ।
यस्तै, दीर्घकालीन लक्ष्यमा समाजमा शान्ति सुव्यवस्था, न्यायिक पहुँच र प्रहरी सेवा प्रवाहको स्तरमा अभिवृद्धिद्वारा सुशासन प्रवद्र्धन, पारदर्शी प्रहरीद्वारा जनविश्वास र सन्तुष्टिको स्तरमा अभिवृद्धि, अपराध रोकथाम, नियन्त्रण र अनुसन्धानमा प्रभावकारिता, दक्ष, नैतिकवान र उत्प्रेरित मानव संसाधन, सुदृढ पूर्वाधार र कार्यवातावरण रहेका छन् ।
रणनीतिक क्षेत्र तथा लक्ष्यमा नीति, योजना र अन्तरराष्ट्रिय समन्वय, शान्ति सुरक्षा र विपद् व्यवस्थापन, अपराध रोकथाम र नियन्त्रण, प्रविधिमार्फत अपराध अनुसन्धान, दक्ष र उच्च मनोबलयुक्त जनशक्ति तयार पार्ने, भौतिक पूर्वाधार र स्रोतसाधनको सुदृढीकरण तथा सूचना प्रविधि र एआईको प्रयोग रहेका छन् ।
प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयले तयार पारेको उक्त रणनीतिले प्रहरीले अल्पकालीन रूपमा नीतिगत र कानुनी सुधार, जनशक्तिको वृत्ति विकास र अपराध रोकथाम प्रणालीमा सुधार गर्ने लक्ष्य राखेको छ।
त्यस्तै, दीर्घकालीन रूपमा समाजमा शान्ति सुव्यवस्था कायम गर्ने, पारदर्शी प्रहरी सेवामार्फत जनविश्वास आर्जन गर्ने र दक्ष एवं नैतिकवान मानव संसाधन विकास गर्ने उद्देश्य लिइएको छ ।
प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी नायब महानिरीक्षक राजेन्द्रप्रसाद भट्टले उक्त रणनीतिक योजनाको प्रभावकारी कार्यान्वयनका लागि वार्षिक कार्ययोजना निर्माण गरिने र महानिरीक्षकदेखि इलाका प्रहरी कार्यालयसम्मका कार्यालय प्रमुखले कार्यसम्पादन सम्झौता गरी काम गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए ।
उक्त कार्यले प्रहरी सेवालाई थप पारदर्शी र परिणाममुखी बनाउने अपेक्षा प्रहरी प्रधान कार्यालयले गरेको छ।
‘नेपाल पुलिस मोबाइल एप’ सार्वजनिक
सोही अवसरमा नागरिकको सुविधाका लागि ‘नेपाल पुलिस मोबाइल एप’ मार्फत अनलाइन गुनासो व्यवस्थापन प्रणालीको शुभारम्भ गरिएको छ । नागरिकले प्रहरी कार्यालयमै नगई मोबाइल एपमार्फत आफ्ना उजुरी र गुनासोहरू दर्ता गर्नेगरी उक्त एप्स सञ्चालनमा ल्याइएको हो ।
दर्ता भएका गुनासोको अवस्था पनि ‘डिजिटल’ रूपमै ‘ट्र्याक’ गर्न सकिने व्यवस्था मिलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त कार्यले प्रहरी सेवामा पारदर्शिता र उत्तरदायित्व बढाउने विश्वास लिइएको छ ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले प्रहरी वरिष्ठ नायक निरीक्षक (वरिष्ठ सई) श्रीहरि केसीद्वारा लिखित ‘दुवाकोटदेखि मिसनसम्म’ पुस्तकको विमोचन गरे । उक्त पुस्तकमा लेखक केसीले आफ्नो दुई दशकभन्दा लामो प्रहरी जीवनका अनुभव र भोगाइलाई समेटेको छ ।

प्रतिक्रिया