काठमाडौँ । नेकपा एमालेले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको संसदीय सुनुवाइ प्रक्रियामा हतार नगर्न आग्रह गरेको छ ।
मंगलबारको संसदीय सुनुवाइ समितिको बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले पर्याप्त अध्ययन र उजुरीकर्तासँगको छलफल बिना नै निर्णय प्रक्रियामा नजान आग्रह गरेकी हुन् । उनले कार्ययोजना र उजुरीहरुको अध्ययनका लागि समय नै नदिई आजै सबै कुरा टुङ्ग्याउन खोज्नु रहस्यमय भएको बताइन् ।
अर्यालले संवैधानिक परिषद्बाट सिफारिस भई आएका नामहरूको योग्यता र विज्ञता जाँच्न परिषद्मा छलफल भएका अन्य उम्मेदवारहरूको विवरण पनि समितिले पाउनुपर्ने माग गरिन् ।
उनले संवेदनशील विषयमा गम्भीर छलफल र पारदर्शी प्रक्रिया अपनाउन आग्रह गरेकी छन् । उनले संवैधानिक परिषद्को बैठकमा विपक्षी दलको नेता र राष्ट्रिय सभाका अध्यक्षले राखेको ‘नोट अफ डिसेन्ट’ का विषयमा पनि समिति सुसूचित हुनुपर्ने बताइन् ।

प्रतिक्रिया