ललितपुर । ललितपुरस्थित पाटन संग्रहालय परिसरमा श्री पुरुषोत्तम महात्म्य पुराण वाचन कार्यक्रम सुरु भएको छ । पाटन संग्रहालयको संयोजन तथा हवि समूह, ललितपुरको आयोजनामा सुरु भएको उक्त धार्मिक कार्यक्रम पुरुषोत्तम महिनाको आध्यात्मिक महिमा, सनातन संस्कृतिको संरक्षण र सांस्कृतिक चेतनालाई समाजसँग जोड्ने उद्देश्यसहित सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
पाटन संग्रहालय परिसरमा रहेको केशव नारायण चोकमा सुरु भएको कार्यक्रम २०८३ जेठ ३ गतेदेखि आगामी आषाढ १ गतेसम्म सञ्चालन हुने बताइएको छ । कार्यक्रममा धार्मिक व्यक्तित्व, पुरोहित, स्थानीय समुदाय, संस्कृति प्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्घाटन अवसरमा पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले नेपालको धार्मिक परम्परा, पुरातात्त्विक सम्पदा र सांस्कृतिक अभ्यास एकअर्कासँग गहिरो रूपमा जोडिएको उल्लेख गर्दै यस्ता कार्यक्रमले सम्पदाप्रतिको चेतना अभिवृद्धि गर्ने धारणा राखिन् । उनले संग्रहालय केवल पुराना वस्तु राख्ने स्थान मात्र नभई सभ्यता, संस्कृति र आध्यात्मिक इतिहासको जीवित अभिलेखालय भएको बताइन् ।
त्यसैगरी पाटन संग्रहालयका कार्यकारी निर्देशक रमेश पौडेलले पाटन संग्रहालयले कला, संस्कृति र इतिहासलाई समाजसँग जोड्ने अभियानअन्तर्गत यस्ता आध्यात्मिक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिइरहेको बताए । उनले पुरुषोत्तम महिनाजस्तो विशेष आध्यात्मिक अवसरमा पुराण वाचन आयोजना गरिनु संग्रहालयको सांस्कृतिक दायित्वसँग समेत सम्बन्धित रहेको उल्लेख गरे ।
पाटन संग्रहालयका सूचना अधिकारी सुरेशमान लाखेले नेपाली समाजको मौलिक धार्मिक परम्परालाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पु¥याउन सामूहिक प्रयास आवश्यक रहेको बताए । कार्यक्रममा उपस्थित पुरोहित तथा स्थानीय समुदायका प्रतिनिधिहरूले पुरुषोत्तम महिनाको धार्मिक महत्त्वमाथि प्रकाश पार्दै यो महिना आत्मशुद्धि, सत्कर्म, दान, तप र भक्ति साधनाका लागि विशेष पुण्यदायी मानिने धारणा व्यक्त गरेका थिए ।
सनातन हिन्दू परम्पराअनुसार प्रत्येक तीन वर्षमा आउने अधिकमासलाई पुरुषोत्तम महिना भनिन्छ । भगवान विष्णुसँग सम्बन्धित यस महिनालाई अन्य महिनाभन्दा विशेष पवित्र मानिन्छ । धार्मिक विश्वासअनुसार यस अवधिमा पुराण श्रवण, पूजा–आराधना, व्रत, दान तथा सत्संग गर्नाले विशेष पुण्य प्राप्त हुने मान्यता छ । विशेषगरी श्रीमद्भागवत, विष्णु पुराण तथा पुरुषोत्तम महात्म्य श्रवणले मानसिक शान्ति, आध्यात्मिक चेतना र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।
कार्यक्रमस्थल पाटन संग्रहालय स्वयं नेपालकै ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको प्रतीकका रूपमा परिचित छ । प्राचीन कला, वास्तुकला र इतिहास बोकेको संग्रहालय परिसरमा आयोजित पुराण वाचनले धार्मिक आस्था र सांस्कृतिक सम्पदाबीचको सम्बन्धलाई थप जीवन्त बनाएको सहभागीहरूको भनाइ थियो ।
आयोजक हवि समूहले धार्मिक परम्परा, सांस्कृतिक पहिचान र सामाजिक सद्भावलाई प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ । कार्यक्रममा दैनिक रूपमा पुराण वाचन, भजन–कीर्तन तथा धार्मिक प्रवचन सञ्चालन हुने जानकारी दिइएको छ ।



प्रतिक्रिया