काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय शक्ति भएको दलले क्षणिक लाभ–हानीको आधारमा निर्णय गर्न नहुने बताएका छन् ।
प्रजातान्त्रिक विचार समाजको ३१औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा सभापति थापाले नेपाली कांग्रेस निर्वाचनको नतिजाले मात्र राष्ट्रिय शक्ति नहुने बताए ।
उनले नेपाली कांग्रेस चुनाव जित्दा, हार्दा वा चुनावमा सहभागी नभए पनि राष्ट्रिय शक्ति नै रहने उल्लेख गर्दै राष्ट्रिय राजनीतिमा उठ्ने विषयमा प्रतिक्रिया दिनेभन्दा दिशा निर्देशन दिने क्षमता पार्टीले राख्नुपर्ने बताए ।
उनले भने, ‘नेपाली कांग्रेस पार्टी एउटा राष्ट्रिय शक्ति हो । राष्ट्रिय पार्टी हो की होइन भन्ने कुरा चुनावको नतिजाले मापन हुने कानुनी व्यवस्था छ । तर मेरो लागि नेपाली कांग्रेस पार्टी निर्वाचन जित्दा, हार्दा र नलड्दा पनि राष्ट्रिय शक्ति नै हो । राष्ट्रिय राजनीतिमा उठेका कुराहरुमा प्रतिक्रिया व्यक्त गर्ने होइन दिशा दिने हो, त्यो सामथ्र्य राख्नुपर्छ ।’
सभापति थापाले निर्वाचित सरकारसँग शक्ति हुने भएपनि संविधानले त्यसको सीमा निर्धारण गरेको उल्लेख गरे । उनले सरकारलाई कानुन बनाउने अधिकार भएपनि के विषयमा र कुन उद्देश्यका लागि कानुन बनाउने भन्ने कुरा संविधानले परिभाषित गरिसकेको बताए ।
सभापति थापाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित नेताहरूको ठूलो समूह अहिले पार्टीको सक्रिय भूमिकाभन्दा बाहिर रहेको भन्दै इच्छुक नेताहरूलाई सम्मानजनक जिम्मेवारीसहित पुनः सक्रिय बनाउनुपर्ने बताए ।
थापाले वरिष्ठ नेता बनाउनुपर्ने व्यक्तिलाई वरिष्ठ नेता तथा आवश्यक स्थानमा उपयुक्त जिम्मेवारी दिएर सबैलाई साथमा लिएर अघि बढ्ने आफ्नो प्रस्ताव रहेको बताए ।
उनले भने, ‘म पार्टीलाई समाजमा लिएर जान चाहन्छु । पार्टीको केन्द्रीय समितिको १४ औँ महाधिवेशनबाट निर्वाचित हुनुभएको नेताहरुको थुप्रै ठूलो पंक्ति बाहिर छ । जति नेताहरु हुनुहुन्न उहाँहरु चाहनु हुन्छ भने ल्याएर मानका साथ वरिष्ठ नेता बनाउनुपर्नेलाई वरिष्ठ नेता, जसलाई जुन ठाउँमा राख्नुपर्ने हो सँगै लिएर काम गर्न चाहन्छु म, मेरो प्रस्ताव हो ।’
उनले अहिले कांग्रेसको आन्तरिक समस्या भन्दा ठूला अहिले देशका समस्या रहेको बताए । ‘मैले आज बीपी कोइरालाले लगाउनुभएको जुत्तामा खुट्टा हालेको छु । यो जुत्ता सबैभन्दा महँगो, बलियो, भरपर्दो हो यो जुत्तामा खुट्टा हालेको कांग्रेसको सभापतिले देशको समस्याको चिन्तन गर्ने कि घर झगडाको ?’
सभापति थापाले देशका मुल मुद्दामा पार्टीलाई ठीक ठाउँमा उभ्याउनका लागि कांग्रेसलाई तयार बनाउन पार्टीभित्र छलफल गर्ने र समर्थकलाई बताउनुपर्ने बताए । उनले यसपटकको निर्वाचनमा १० लाख शुभेच्छुक र समर्थकको मत गुमाएको उल्लेख गर्दै भने, ‘ म त्यो १० लाख शुभेच्छुक÷समर्थकको बीचमा पुग्न चाहन्छु । जे कारणले कांग्रेस हुनुभएको हो म त्यही फिर्ता गर्न चाहन्छु ।’

प्रतिक्रिया