मुस्ताङको लोमान्थाङबाट ठूलो परिमाणको भेपसहित तीन जना पक्राउ


काठमाडौँ । सशस्त्र प्रहरीले मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट ५ सय ९० कार्टुन चाईनिज ईलेक्ट्रिक चुरोट (भेप) तथा अन्य विभिन्न सामान र कन्टेनरसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएकाहरुमा धादिङ जिल्लाको धुनीबेशी नगरपालिका–१ बस्ने सन्तोष लामा तथा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ बस्ने फुन्चुदोर्जे तामाङ र उनका साथी सोही गाउँपालिका–३ बस्ने पासाङ शेर्पा छन् । 

ना ६ ख ४७४३ र ना ५ ख ७९२१ नम्बरको कन्टेनरमा कोरोला नाकाह हुँदै काठमाडौंतर्फ आउँदै गरेका उनीहरुलाई शुक्रबार राति सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट नेचुङ, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले सामानसहित नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको सामानहरुमा ईलेक्ट्रिक भेपसहित २ सय ५९ कार्टुन विभिन्न कम्पनीका जुत्ता, ८ बोरा मोजा, १५ बोरा लत्ताकपडा र १५ किलो खाली कार्टुन बक्स(सामान प्याक गर्ने प्रयोग गरिने बक्स) समेत रहेको छ ।

नियन्त्रणमा लिइएकाहरुलाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई र बरामद सामान मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए ।