पार्टीमा सिद्धान्त र व्यवहारबीच तालमेल मिलाउँदै जनविश्वास आर्जन गर्न निरन्तर प्रयास गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी


काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीले देखाएको जनमुखी राजनीति, वैचारिक स्पष्टता, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक प्रतिबद्धताको मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएकी छन् ।

मदन–आश्रित स्मृति दिवसका अवसरमा सन्देश जारी गर्दै उनले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि अझ जिम्मेवार भएर अघि बढ्नु पर्ने बताएकी छन् ।

उनले भनेकी छन्, ‘मदन–आश्रितले कम्युनिष्ट आन्दोलनप्रति जनताको अपार माया, विश्वास र समर्थन जुटाउँदै आन्दोलनलाई सफलताको सिँढी चढाउन अभूतपूर्व योगदान गर्नुभएको थियो । जननेता मदन भण्डारीद्वारा प्रवर्तित ‘जनताको बहुदलीय जनवाद (जबज)’ले लोकतान्त्रिक माध्यममार्फत मुलुकमा सामाजिक न्याय, समृद्धि र रूपान्तरणको मार्गदर्शन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न ऐतिहासिक भूमिका निर्वाह गरेको छ ।’

उनले विगतका उपलब्धिहरूसँगै वर्तमानका अवसर र चुनौतीलाई ध्यानमा राख्दै हामी अझ जिम्मेवार र संवेदनशील बन्न आवश्य रहेको उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्, ‘विगतका उपलब्धिहरूसँगै वर्तमानका अवसर र चुनौतीलाई ध्यानमा राख्दै हामी अझ जिम्मेवार र संवेदनशील बन्न आवश्यक छ । अहिले देखिएका चुनौतीहरूको सामना गर्नेका लागि महत्वपूर्ण शर्त भनेको सुदृढ सांगठानिक एकता, नेता–कार्यकर्ताको सक्रियता, त्याग र समर्पण अपरिहार्य छन् । साथै जनअपेक्षा, सुधारप्रतिको चाहनालाई ध्यानमा राख्दै पार्टी र जनताबीचको सम्बन्धलाई थप मजबुत बनाउन आवश्यक छ । यसैगरी, सिद्धान्त र व्यवहारबीच तालमेल मिलाउँदै जनविश्वास आर्जन गर्न निरन्तर प्रयास गर्नु पर्दछ । जनताको विश्वास नै कुनै पनि राजनीतिक शक्तिको सबैभन्दा ठूलो शक्ति हो भन्ने सत्यलाई आत्मसात् गर्दै यसलाई अझ मजबुत बनाउनु पर्दछ ।’

उनले जननेता मदन भण्डारीले देखाएको जनमुखी राजनीति, वैचारिक स्पष्टता, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक प्रतिबद्धताको मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्, ‘जननेता मदन भण्डारीले देखाउनुभएको जनमुखी राजनीति, वैचारिक स्पष्टता, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक प्रतिबद्धताको मार्ग आज पनि उत्तिकै सान्दर्भिक छ । मदन–आश्रित स्मृति दिवसले हामीलाई लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि अझ जिम्मेवार भएर अघि बढ्न प्रेरणा प्रदान गरोस् ।’