प्रधानमन्त्रीलाई प्रजातान्त्रिक र संसदप्रति उत्तरदायी बन्न ज्ञानेन्द्र शाहीको सुझाव


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले राजीनामा दिइहाल्नुपर्ने अवस्था नरहेको बताएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको राजीनामा मागेपछि शाहीको यस्तो भनाई आएको हो ।

शाहीले भने, ‘माननीय हर्क साम्पाङज्यूलाई मेरो विनम्र अपिल छ। प्रधानमन्त्रीज्यूको राजीनामा माग्नुपर्ने कुनै कारण छैन। याद गर्नुस्, तिनै शक्तिहरूले ३५ वर्षसम्म यो देश लुटे, भ्रष्टाचार गरे। तिनैका विरुद्धको लडाइँमा अहिलेका जनताले मतदान गरेका हुन्। त्यसैले हामीले जनताको मत र जनादेशको सम्मान गर्नुपर्छ।’

शाहीले प्रधानमन्त्रीलाई प्रजातान्त्रिक र संसदप्रति उत्तरदायी हुन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘हामी सबै मिलेर देशलाई अगाडि बढाउनुपर्छ। हाम्रो माग यति मात्रै हो कि प्रधानमन्त्री प्रजातान्त्रिक भइदिनुहोस्, संसदप्रति उत्तरदायी भइदिनुहोस्। किनकी संसद जनताको आवाज बोल्ने थलो हो, जनताका कुरा सरकारलाई सुनाउने सर्वोच्च प्रजातान्त्रिक मञ्च पनि संसद नै हो।’