‘अरूले बिगारे’ भनेर कहिलेसम्म टक्टकिने ?


-रवीन्द्र मिश्र ।

राष्ट्रिय स्वतन्त्र पार्टी (प्रचण्डवादीे) ले फेरि एकपटक संघीय लोकतान्त्रिक गणतन्त्रप्रति आफ्नो गहिरो आस्था र प्रतिवद्धता व्यक्त गरेको छ – हिजो नीति र कार्यक्रमको जवाफ दिने क्रममा ।

त्यस्तो प्रतिवद्धता सुन्दा लाग्छः

मानौँ, यो देश रास्वपाको यही पुस्ताका नेताहरूको मात्र पेवा हो । मानौँ, भविष्यमा सो पार्टीमा खराब नेतृत्व आउँदै आउँदैन। मानौँ, अरू पार्टीका खराब नेताको हातमा देश अब कहिल्यै जाँदै जाँदैन । मानौँ, अतिसंवेदनशील बन्दै गएको क्षेत्रीय र विश्व भूराजनीतिको प्रभाव नेपालमा पर्दै पर्दैन। मानौँ हाम्रो विविध जातीय, धार्मिक, क्षेत्रीय सम्वन्धमा कहिल्यै संकट आउँदै आउँदैन। मानौँ, हाम्रो राजनीतिक नेतृत्व र राष्ट्रपतिको संस्था यति इमानदार, सक्षम र दूरदृष्टिपूर्ण छ कि, हामीलाई सदियौँदेखि रहँदै आएको देशभक्ति र राष्ट्रिय एकताको प्रतिक अब चाहिँदै चाहिँदैन ।

Come on guys, तपाईँ र हामीजस्ता अधिकांशका छोराछोरी नेपाल बस्नेवाला छैनन् । स्वप्रेरणाले फर्किने धेरै कम हुनेछन्। अधिकांश चाहिँ नेपाल खुब राम्रो भयो या नेपालमा राम्रो फाइदा हुने भयो भने मात्र फर्किने हुन्। त्यसमा हामीले कसैलाई दोष दिन मिल्दैन । तर भोलि पनि नेपालमैँ बस्ने करोडौँ सन्ततिका बारे देशको एक नम्बरको पार्टीले सोच्न पर्छ कि पर्दैन ? अमेरिका र चीनजस्ता शक्तिशाली राष्ट्रका राष्ट्रपति भेट्दा सम्भाव्य भावी द्वन्द्व र संकटको कुरा गर्दैछन्। संसार झनझन असुरक्षित भएर गएको सबैले देखिरहेकै छौँ ।

यस्तो अवस्थामा हामीजस्तो भूराजनीतिक ज्वलनविन्दूमा भएको देशले देशको दीर्घकालीन शान्ति, स्थिरता, एकता र अस्तित्वका बारेमा सोच्न पर्छ कि पर्दैन?
खाली जहिले पनि ‘संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको हाम्रो प्रतिवद्धता’ भन्या छ, बस्या छ। त्यसो हो भने पार्टी कार्यालयमा प्रचण्डजीको तस्बिर झुण्डाउनोस्। देशको दीर्घकालीन शान्ति, स्थिरता, एकता, अस्तित्व र भावी पुस्ताको हित ठूलो कि संघीय लोकतान्त्रिक गणतन्त्र ठूलो ? अनि भोलि फेरि तलमाथि भयो, जेनजी विद्रोहको बेलाको जस्तो, या त्यो भन्दा पनि खराब स्थिति आयो भने, ‘हामीले त राम्रो गरेकै हो, अरूले बिगारे’ भनेर टक्टकिने ? केही वर्षका लागि केही नेता असल हुँदैमा संवेदनशील भू–अवस्थिति र आन्तरिक परिवेश भएको देशको दिर्घकालीन हित र अस्तित्व सुनिश्चित हुन सक्दैन। सबैलाई चेतना होस् !