म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग निर्माण भएको छ। नारच्याङ गाउँको पृष्ठभूमिमा रहेको अग्लो पहाडबाट खस्ने झरना म्याग्दीको नयाँ पर्यटकीय गन्तव्य हो। पदमार्ग बनेपछि झरना अवलोकन गर्न आउने पर्यटकलाई आवतजावत गर्न सहज भएको छ।
गण्डकी प्रदेश सरकार र अन्नपूर्ण गाउँपालिकाको रु २७ लाख बजेटमा उपभोक्ता समितिमार्फत भिरालो पाखाको उकालोमा पाँच सय मिटरभन्दा बढी रेलिङसहितको पदमार्ग निर्माण भएको नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले बताए।
“आर्थिक वर्ष २०७९/८० देखि सुरु भएको पदमार्ग निर्माणले यसपालि पूर्णता पाएको हो”, उनले भने, “सुरुको वर्ष रु १० लाख बजेट विनियोजन गरेको प्रदेश सरकारले यस वर्ष रु पाँच लाख छुट्याएको थियो । गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा रु सात लाख र २०८१/८२ मा रु पाँच लाख विनियोजन गरेको थियो।”
उपभोक्ताले विनियोजित बजेटको १० प्रतिशतबराबरको श्रमदान गरेर पदमार्ग बनाएका वडाध्यक्ष फगामीले बताए। एक दशमलव पाँच मिटर फराकिलो पदमार्गको डिलतर्फ रेलिङ राखिएको छ भने अधिकांश ठाउँमा ढलान गरेर पक्की बनाइएको छ। उकालो बाटोमा व्यवस्थित पदमार्ग नहुँदा चिप्लिएर लड्ने र दुर्घटनाको जोखिम थियो। पहाडको बीच भागमा रहेको थुम्कामा झरना अवलोकनस्थल बनाउन अन्नपूर्ण गाउँपालिकाले चालु आवमा विनियोजन गरेको रु २० लाख बजेट कार्यान्वयनमा समस्या भएको छ।
इन्धन र निर्माण सामग्रीमा भएको मूल्यवृद्धिका कारण योजना कार्यान्वयन गर्न नसकिएको वडाध्यक्ष फगामीले बताए। झरनाले नारच्याङमा पर्यटकको चहलपहल बढाएको छ। छ–सात वर्षअघिसम्म ओझेलमा रहेको यो झरना सुनसान थियो। हाल दैनिक एक सय जना स्वदेशी तथा विदेशी पर्यटक झरना अवलोकन गर्न आउने स्थानीय टकबहादुर पुनले बताए।
अन्य समयको तुलनामा बिदाको दिन पर्यटक बढी आउने गर्छन्। परिवार, सहकारी, विद्यालय, कलेज र विभिन्न सङ्घसंस्थाबाट सामूहिक भ्रमणमा आउने गरेका हुन्। नारच्याङ झरना सुन्दर, आकर्षक र मनमोहक रहेको अवलोकनका लागि जानुभएका पोखराकी रसिला पराजुलीले बताए।
यो झरनाको उचाइ तीन सय मिटरभन्दा बढी छ । यहाँ इन्द्रेणीको पनि दृश्य देख्न सकिन्छ। पर्यटकले झरनासँगै तस्बिर, भिडियो खिच्ने, टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने भएकाले प्रचारप्रसारमा सहयोग पुगेको छ। समुदायले नारच्याङ गाउँदेखि झरनासम्म पुग्ने कच्ची पदमार्ग, दृश्यावलोकनस्थल र घेराबार निर्माण गरेका छन्। झरनाको नजिकै रहेको भूमे देवताको थान नारच्याङवासीको धार्मिकस्थल हो। सो ठाउँबाट कालीगण्डकी किनारको समथर भूगोल, नारच्याङ, दाना र तातोपानीको बस्ती देखिन्छ।
बेनी–जोमसोम सडकको नागढुङ्गादेखि पाँच मिनेट सवारीसाधन र ३० मिनेट पैदल हिँडेर झरनामा पुग्न सकिन्छ। झरना अवलोकनका लागि आउने पर्यटकको सुविधाका लागि नारच्याङका सातवटा घरमा घरबास होमस्टे सञ्चालन भएको छ।

प्रतिक्रिया