काठमाडौँ । भक्तपुरको रानीकोटस्थित भिलेज हाईल्याण्ड रिसोर्ट दक्षिण एशियाकै प्रतिष्ठित पर्यटन तथा आतिथ्य क्षेत्रको अवार्ड कार्यक्रम ‘साउथ एशियन ट्राभल अवाड्र्स (साटा) २०२६’ का लागि मनोनयनमा परेको छ । दक्षिण एशियाली पर्यटन तथा होटल उद्योगमा विशेष प्रतिष्ठा राख्ने साटा अवार्डले हरेक वर्ष उत्कृष्ट होटल, रिसोर्ट, ट्राभल कम्पनी तथा पर्यटन व्यवसायलाई सम्मान गर्दै आएको छ। यस वर्ष नेपालबाट भिलेज हाईल्याण्ड रिसोर्टको मनोनयनलाई नेपाली पर्यटन क्षेत्रकै महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
रिसोर्टका सञ्चालक रामसुन्दर बकेका अनुसार अन्तर्राष्ट्रियस्तरको अवार्डमा नेपाली रिसोर्टको उपस्थिति बलियो बन्दै जानु नेपालको पर्यटन प्रवद्र्धन, आतिथ्य सेवा र अन्तर्राष्ट्रिय पहिचान विस्तारका दृष्टिले सकारात्मक संकेत हो । उनले नेपाली पर्यटन उद्योगले पछिल्ला वर्षहरूमा गुणस्तरीय सेवा, प्राकृतिक अनुभव र सांस्कृतिक आतिथ्यलाई प्राथमिकतामा राख्दै विश्व बजारमा आफ्नो स्थान विस्तार गर्दै गएको बताए।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ र काभ्रेको पनौती नगरपालिका–१ को संगमस्थल रानीकोटमा अवस्थित रिसोर्ट प्राकृतिक सौन्दर्य, शान्त वातावरण र पारिवारिक आतिथ्य सेवाका कारण आन्तरिक तथा बाह्य पर्यटकबीच लोकप्रिय बन्दै गएको छ। रिसोर्टबाट काठमाडौँ उपत्यकासहित लाङटाङ हिमशृंखलासम्मको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ, जसले पर्यटकलाई प्रकृतिसँगको नजिकको अनुभूति गराउँछ।
रिसोर्ट परिसरमा हाइकिङ, नेचर वाक, बर्ड वाचिङ तथा गाउँ पर्यटनको अनुभव लिन सकिने व्यवस्था रहेको छ। साथै ऐतिहासिक रानीकोट किल्लासहित आसपासका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको अवलोकन गर्न सकिने भएकाले यो क्षेत्र छोटो दूरीमै प्रकृति, इतिहास र ग्रामीण जीवनशैली अनुभव गर्न चाहने पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै गएको छ।
व्यवस्थापनका अनुसार रिसोर्टमा आधुनिक सुविधासहित आरामदायी आवास, स्थानीय तथा अन्तर्राष्ट्रिय परिकार, पारिवारिक वातावरण र पर्यटकमैत्री सेवा उपलब्ध छन्। रिसोर्टले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत साटा २०२६ को मनोनयनबारे जानकारी दिँदै शुभेच्छुक तथा समर्थकलाई अनलाइन भोटमार्फत साथ दिन आग्रहसमेत गरेको छ।
साउथ एशियन ट्राभल अवाड्र्स (साटा) सन् २०१६ देखि सञ्चालन हुँदै आएको दक्षिण एशियाली पर्यटन तथा आतिथ्य क्षेत्रको प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम हो। नेपाल, भारत, श्रीलंका, माल्दिभ्स, भुटान तथा बंगलादेशलगायत मुलुकका होटल, रिसोर्ट, ट्राभल कम्पनी तथा पर्यटन व्यवसायबीच प्रतिस्पर्धा हुने यस अवार्डलाई दक्षिण एशियाली पर्यटन उद्योगको महत्वपूर्ण मञ्चका रूपमा लिइन्छ। भिलेज हाईल्याण्ड रिसोर्टको मनोनयनले नेपाली पर्यटन उद्योगको अन्तर्राष्ट्रिय उपस्थिति र सम्भावनालाई थप उजागर गरेको पर्यटन व्यवसायीहरूको विश्वास छ।

प्रतिक्रिया