उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा


मुस्ताङ। नेपाल–चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ–१ ढालुङ र सेतारा माथिको चरन क्षेत्रमा ठूलो सङ्ख्यामा जङ्गली गधा (क्याङ) देखापरेका छन् ।

समून्द्री सतहभन्दा करिब पाँच हजार मिटर उचाइको लोमान्थाङ गाउँपालिकास्थित धालुङ उच्चलेक र सेतारा लेकमा जङ्गली गधा (क्याङ) चर्दै गरिहेको अवस्थामा भेटिएका हुन् ।

जङ्गली गधा (क्याङ) सम्बन्धी अध्ययन गरिरहेका एक्याप लोमान्थाङ कार्यालयका प्रमुख उमेश पौडेलले लोमान्थाङस्थित धालुङ र सेतारा उच्चलेकमा जङ्गली गधा क्याङ चर्दै गरिरहेको अवस्थामा भेटिएको बताए । कोरलास्थित नेपाल—चीन सीमा क्षेत्रबाट फर्किंदै गरेको अवस्थामा धालुङ र सेतारा उच्चलेकमा जङ्गली गधाहरुको बथान चर्दै गरेको अवस्थामा देखिएको प्रमुख पौडेलले बताए ।

आफूले लोमान्थाङको धालुङ उच्चलेकमा १०२ वटा र सोही स्थानको अर्को सेतारा उच्चलेकमा १४ वटा गरी ११६ वटा जति जङ्गली गधा (क्याङ)देखेको जानकारी दिए । उनका अनुसार जङ्गली गधाको बासस्थान हिमायन ट्रान्स हिमालयन (तिब्बत-मुस्ताङ) क्षेत्रमा रैथान संयुक्त बासस्थान रहेको बताइन्छ । दुर्लभ स्तनधारी जङ्गली गधा ९क्याङ०को मौसम अनुसार बासस्थान तय हुने प्रमुख पौडेलको भनाइ छ ।

हिउँदयामको आठ महिना तिब्बती पठारमा बर्खायाममा गर्मी सुरु हुँदा चार महिना उपल्लो मुस्ताङ क्षेत्रको उच्चलेकमा बासस्थान बनाउने गरेको प्रमुख पौडेलले बताए । तिब्बतको पठारमा बढी समय बिताउने जङ्गली गधाहरु अप्रिल, मे र जुन महिनामा बासस्थान परिवर्तन गरी उपल्लो मुस्ताङका उच्चलेकमा प्रवेश गर्छन् । तिब्बत र मुस्ताङको सीमा क्षेत्रमा बस्ने जंगली गधाहरु बढी समय तिब्बती पठारमा बिताउँछन् ।

चीनसँग सिमाना जोडिएको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको सीमाक्षेत्रको चरन क्षेत्रमा मौसमअनुसार जङ्गली गधाको सङ्ख्या देखिने गरेको छ । यसअघि ‘क्यामेरा ट्यापिङ’ गरी प्राविधिक रुपमा जङ्गली गधाको सङ्ख्या यकिन गर्ने गरिएको भए पनि यति ठूलो सङ्ख्यामा पहिलो पटक देखिएको हो ।

यसअघि सन् २००४ मा गरिएको जङ्गल गधाको अध्ययनमा उपल्लो मुस्ताङमा ३७ वटा सङ्ख्या देखापरेका थिए । जलवायु परिवर्तनका कारण यस प्रकारका जङ्गली गधाहरु मौसमअनुसार तलमाथि गर्ने गर्छन । यो याममा उपल्लो मुस्ताङका सीमावर्ती उच्चलेकमा हरियो घाँस पलाइसकेकाले जङ्गली गधाहरु आहारको खोजीमा नेपाल प्रवेश गरेका हुन् ।

जङ्गली गधाको शरीर खैरो/हरियो रातो र पेटतिरको भाग सेता रङ्ग हुन्छ । यसका खुट्टाहरु लामो लामो र सिधा उभिने शैलीको छिटो कुद्न सक्ने क्षमता राख्दछ । जङ्गली गधा एसियाकै सबैभन्दा ठूलो स्तनधारी प्राणी हो । समूहमा बस्ने, छिटो छिटो कुद्ने र सतर्क रहने जङ्गली गधाको मुख्य विशेषता हो । जङ्गली गधाका लागि जलवायु सङ्कट र मानव गतिविधि मुख्य चुनौतीका रुपमा लिने गरिएको छ ।