नारायण गाउँले ।
बालेनजी,
भदौ २३ को साँझ राज्यको बन्दुकबाट १९ जना आमाहरूले आफ्ना कलिला सन्तान गुमाएका थिए । त्यो हृदयविदारक चित्र यसरी हरेक आमाको मुटुभित्र पुग्यो कि हरेक आमालाई आफ्नै सन्तान गुमेजस्तो लाग्यो । त्यो बेलुका कुनै एक आमाको मन यस्तो थिएन, जो नदुखेको होस्, विक्षिप्त नभएको होस् ।
बौद्धिक भनिने संसारमा ती बच्चा त्यहाँ कसले लग्यो, किन लग्यो जस्ता बहस चले । पहिले गोली चल्यो कि जल्यो भन्ने वक्तित्वकला चल्यो । एजेन्डा र घोषणापत्रका फण्डा चले । तर आमाहरूको मनमा त्यो चित्रबाहेक अरू केही चलेन । अन्य कुनै पनि तर्क, बहस र भाष्यले त्यो चित्र र त्यसमा लागेको रातो रङ्ग पखालेन । त्यसको परिणाम त चुनावमा पनि देखियो । कहिलेकाहीँ कुनै घटना, कुनै चोट र दृश्य यति कारुणिक हुन्छन् कि तिनको विश्लेषण गर्दा पनि घाउ थपिने डरले हामी चुपचाप हुन्छौँ । तर्कशास्त्रभन्दा टाढा हुन्छौँ । सही र गलतभन्दा बाहिर हुन्छौँ । त्यस्तै भयो ।
तपाईंको सरकारले गर्न चाहेका काम राम्रा छन् र अपवादबाहेक नियत पनि ठीक छ भन्ने मजस्ता धेरैलाई लाग्छ । यसअघि एक महिनासम्म प्रधानमन्त्री र दुई तीन मन्त्रीमात्रै हुन्थे । कुन स्वार्थ समूहले कसलाई कुन मन्त्री बनाउने भन्ने कसरत गरिरहेको हुन्थ्यो । बालुवाटारमा भातृसङ्गठनले खादामाला बोकेर दिनहुँ बधाई दिइरहेका हुन्थे । शपथ खाएको केही घण्टामैं लगभग सिङ्गो मन्त्रिमण्डल बन्यो । कार्ययोजना बाहिर आयो । महत्त्वपूर्ण नियुक्तिहरू भए । प्रधानमन्त्रीले देशभरका निर्वाचित सांसदहरूसँग भेटेर वास्तविक समस्या बुझ्न खोजे । प्रदेशका मुख्यमन्त्रीसँग सघन छलफल भयो । बोल्ने भन्दा सुन्ने काम बढी भयो । हरेक दलका महत्त्वपूर्ण चुनावी प्रतिबद्धतालाई सम्मान गरेर सकेसम्म समेट्ने कस्तो सुन्दर प्रतिबद्धता आयो । कार्यालयमा कर्मचारी भेटिने अनौठो घटना देखिन थाल्यो । केही काम साँच्चिकै छिटोछरितो सम्पन्न हुन थालेको अनुभव भयो ।
तर राम्रो गर्ने चाहनामा, केही गरिहाल्ने छटपटीमा र अलिकति प्रारम्भिक उत्तेजनामा सरकारको काम र विधि–पद्धतिबीच तालमेल नमिलेको जस्तो, तयारी नै नगरी निर्णय भएजस्तो र दूरदृष्टि भन्दा क्षणिक तुष्टीकरणतिर लागेजस्तो अनुभव पनि हुँदै गएको छ । अलिकति परिपक्वता र अनुभवको अभाव हो कि भन्ने लाग्न थालेको छ । अदालतले त सङ्केत नै गरेको छ । दुई मन्त्रीको बहिर्गमन होस् या देशभर स्कुल सञ्चालनमा देखिएको भद्रगोल होस्, अलि हतारिएको स्पष्ट देखिन्छ । संसदको अधिवेशन बोलाउने जस्तो गम्भीर विषयमा पनि होमवर्क नपुगेजस्तो देखिनु उचित होइन ।
भुल्न नहुने के छ भने यो सरकारसँग पाँच वर्षको समय छ, र कसैले रौँसमेत हल्लाउन नसक्ने गणित पनि छ । एउटा–दुईवटा खुद्रा काम होइन, सिस्टम निर्माणतिर लाग्ने र आफू भए पनि नभए पनि भोलि काम नरोकिनेतिर सोच्न सक्ने अवसर छ ।
बालेनजी,
खुद्रा कामले हल्ला बढाउँछ । हल्लाले डिस्ट्रयाक्सन बढाउँछ । त्यसपछि गर्न खोजेको काम पनि गर्न पाइन्न । यसो सोच्नु त, यति सक्षम अर्थमन्त्री छन् देशमा । तर आर्थिक रूपान्तरणतिर राजनीतिको ध्यान र बहस जानै पाएको छैन ।
यतिबेला विश्व राजनीति पनि नाजुक र अनिश्चयको बन्दी बनेको छ । जेट–फ्यूल महँगो मात्रै होइन, सिद्धिनै लागेको भनेर धमाधम हवाइ उडान बन्द हुन लागे । महँगीले आकाश छोएको छ । ग्यास नपाएर भारतमा आन्दोलन सुरु भयो । मान्छे गरिब बन्दै छन् । जीवन–यापन कठीन बन्दै छ । खाद्य सुरक्षा र ऊर्जा सुरक्षाजस्ता विषयले सबै देशलाई चिन्तित बनाएको छ । हिजो ग्रो गरिरहेका देश पर्यटनदेखि औद्योगिक आउटपुटसम्म प्रभावित भएर जिडीपी नै सङ्कुचित हुनेतिर पुग्दै छन् । हामी पनि अछुतो छैनौं । पेट्रोलियममा कर घट्दा पनि मूल्य झन् बढेको छ । मान्छेको ढाड भाँचिने मूल्य छ तर आयल निगम घाटामैं छ । राजश्व कम तर खर्च उच्च हुँदै छ । आयातको बिल पनि उच्च हुनेछ । रेमिटेन्स पनि दबाबमैं होला । सेवा र उत्पादन दुबैतिर मन्दीका कारण रोजगारी पनि कटौती हुन सक्छ । विश्वकै रोजगारी निली रहेको ’एआई’ पनि छँदै छ ।
यो सिङ्गो विश्वका लागि कठीन समय हो । हाम्रो लागि पनि । यतिबेला हाम्रो उच्च प्राथमिकता नागरिक जीवनयापन, जीवनस्तर, महँगी, बेरोजगारी, खाद्य सुरक्षा र ऊर्जा सुरक्षा हुनुपर्छ । अबको बहस स्वर्णिम वाग्लेहरूलाई केन्द्रमा राखेर हुनुपर्छ ।
सुनेको छु, यस्तो बेला तपाईं सुकुम्बासी बस्ती खाली गर्ने योजनामा हुनुहुन्छ । आशा गर्छु, पूर्वतयारी पनि होला । विकल्पको व्यवस्था पनि होला । वीरगञ्जमा कति धेरै घर भत्किएका दृश्य बाहिर आए । पुरानो शहर नै विरूप बन्यो । हिजो उचित मुआब्जाबिना जनताको घर भत्काउनु जायज होइन भन्ने तपाईंको अन्तर्वार्ता सुनेर कस्तो खुसी लागेको थियो, पक्कै उचित क्षतिपूर्तिको व्यवस्था भयो होला ।
आज तपाईंलाई सम्बोधन गर्न खोजेको चाहिँ एकदम शुद्ध मनले सल्लाह दिनका लागि हो । एउटा कारुणिक चित्रले गर्दा जसरी यत्रो चुनाबी परिवर्तन सम्भव भयो, त्यस्तै चित्र तर विपरीत खालको बन्यो भने सत्ता सञ्चालन मुश्किल बन्न पनि सक्छ । हिजो हरेक आमालाई आफैँ सन्तान गुमाएजस्तै लागेको थियो । आज रुँदै गरेका बालबच्चा काखीमा च्यापेर डोजरमुनिबाट सडकमा आउँदै गरेकी कुनै महिलाको कारुणिक तस्बिरमा धेरैले आफ्नो अनुहार देख्न सक्छन् । पूर्जा भएर, विधिवत् नक्सा पास पनि भएर बनेका घर पनि डोजरले च्यातेको दृश्यले सबैलाई कारुणिक बनाउन सक्छ । हजारौँ वर्षको सम्बन्ध भएको नेपालभारत सीमामा लछारपछार गर्दै एक किलो भिन्डी र एक दर्जन केरा पनि पुलिसले जफत गरेको तस्बिरले फेरि यस्तै हलचल पैदा गर्न सक्छ । राज्यको मनमा करुणा छैन, दया छैन र आत्मीयता छैन भन्ने कत्ति पनि लाग्न दिनु हुन्न । तर दुर्भाग्यवश यस्तो लाग्ने ठाउँ सरकार आफैँले दिएको छ ।
गणितले तपाईँलाई हराउन सक्ने ल्याकत कसैसँग छैन । त्यसैले विपक्षीले हरेक यस्तो चित्रको भरपूर प्रयोग गर्नेछन् । विपक्षी भनेका दलमात्रै होइनन्, तपाईंकै वरपर पनि हुन सक्छन् । ती हरेक गौंडामा बाटो ढुकेर बस्नेछन् । एकदम सजग बनेर हिँड्नुहोला ।
विवादरहित बन्न त थपक्क सुतेर बस्नपर्छ । तपाईं काम गर्न आउनुभएको छ । अलिकति विवाद र छिर्के हान्ने काम त हुन्छ हुन्छ । तर जे गर्दै हुनुहुन्छ, एकदम सोचेर, तयारी गरेर, त्यसका क्रिया–प्रतिक्रियाबारे पुनर्विचार गरेर, प्राथमिकता निर्धारण गरेर र उपयुक्त समय हेरेर गर्नुहोला । एउटा सामान्य निर्णय र काम गर्दै गर्दा पनि यो देशको सबैभन्दा गरिब मान्छेलाई केन्द्रमा राखेर गर्नुहोला । इतिहासकै सबैभन्दा दयालु र करुणायुक्त सरकारको छनक दिने गरी कदम चाल्नुहोला । सके त विवाद नआउने, हल्ला नहुने र सिस्टम बलियो बनाउने काम अरूभन्दा पहिले गर्नुहोला ।
सुकुम्बासी समस्या तपाईंले जन्माएको होइन । यो जटिल र निकै विवाद निम्त्याउन सक्ने विषय हो । यस्तो गर्नुस् र यस्तो नगर्नुस् भन्ने त म को हुँ र ! तर जे गर्नुस्, सिर्जनशील तरिकाले गर्नुस्, व्यवस्थित र उदाहरणीय तरिकाले गर्नुस् । यो गर्नै पर्ने काम पनि हो, हामी सबैले ताली बजाउन मिल्ने गरी गर्नुस् । तपाईंका विरोधीले चाहेजस्तै निर्मम, क्रूर, निर्दयी र अमानवीय देखिने गरीचाहिँ नगर्नु ल ! सोच्नुस् त, हिजो मर्ने भित्र भाटभटेनी चोर्ने पनि त थिए नि । तर आमजनताले बच्चामात्रै याद राखे । सुकुम्बासीभित्र कैयौं हुकुमबासी पनि होलान्, तर थोरै भए पनि नाङ्गो जिउ र आँसु देखियो भने सबैले त्यही याद गर्नेछन् ।

प्रतिक्रिया