उपमहानगरले भत्कायो बुटवल उद्योग वाणिज्य संघका अध्यक्षको घर


बुटवल । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालको घर बुटवल उपमहानगरपालिकाले भत्काएको छ । बुटवलको वडा नम्बर ११ योगिकुटी देखि वडा नम्बर ६ को कृषिथोक उपजकेन्द्रसम्म रहेको कालिकापथ बिस्तारको क्रममा सडक सीमा भित्र रहेको भन्दै उक्त घर वडा नम्बर ११ कालिकापथमा रहेको उक्त घर भत्काइएको हो ।

बुटवलको उज्यालो क्षेत्र र रात्रीकालीन समयमा समेत व्यवसायको प्रमुख केन्द्र बनाउने उद्देश्यका साथ बिस्तार सूरु गरिएको कालिका पथ सडक निर्माण कार्य बुटवल उद्योग बाणिज्य संघकै अध्यक्षका कारण अवरुद्ध भएको थियो ।

बुटवल उपमहानगरपालिकाको नाली बिस्तारका लागि बिनियोजित बजेट र प्रदेश सरकारको ६ लेनमा चौडा गर्नका लागि बिनियोजन गरेको बजेटबाट निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सूरु गरिएको उक्त निर्माण कार्य रोक्न भन्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्षले अदालतमा गएपछि निर्माण कार्य रोकिन पुगेको हो ।

बुटवल उपमहानगरपालिकाको ९ र ११ नं वडा भएर उत्तर दक्षिण निर्माण हुने उक्त सडक बिस्तारमा वडा नं ९ मा रहेका सडक किनारका सबै बासिन्दाले घर टहरा तथा पर्खाल भत्काएको भएपनि बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले अटेर गर्दै आएका थिए । बिहानै ठूलो संख्यामा प्रहरी सहित पुगेको बुटवल उपमहानगरपालिकाको डोजरले उक्त घर भत्काएको हो ।

यस अघि ०५४ सालमा यो सडकलाई ८२ फुटको कायम गर्नेगरी तत्कालीन बुटवल नगरपालिकाले तयारी गरेपनि केही घरधनीले सडक विस्तारमा अवरोध सिर्जना गरेकाले काम सूरु हुन सकेको थिएन ।