काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान खोज्न दृढसंकल्पित हुनुपर्ने बताएका छन् । नयाँ वर्षको पूर्वसन्ध्यामा शुभकामना दिँदै पूर्वराजा शाहले व्यक्तिमात्र बदलेर देश बदलिने रहेनछ भन्ने पाठ सिक्नुपर्ने बताएका हुन् ।
उनले राजनीति, राज्यपद्धति र शासनप्रणालीको हेरफेर कोरा परिवर्तनमात्र भएको उल्लेख गर्दै देश चौतर्फी समस्याको चाङमा रहेको बताएका छन् । उनले राजनीति र राज्य सञ्चालनका गतिविधिमा युवापिँढीको सहभागिता बढ्नु भने राम्रो भएको बताएका छन् ।
उनले भनेका छन्, ‘राजनीति र राज्य सञ्चालनको गतिविधिमा युवा पिढीको संलग्नता बढ्दै जानु उत्साहको विषय हो । पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साही पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउनुमा मद्दत पुग्छ भन्ने हामीलाई लागेको छ ।’
पूर्वराजा ज्ञानेन्द्र शाहले आन्तरिक सुरक्षा प्रणालीको दृष्टिकोणले देश नाजुक भएको उल्लेख गर्दै जीउधनको सुरक्षा गर्नु र जीवन जिउने अधिकार दिनु सरकारको कर्तव्य रहेको पनि बताएका छन् । उनले भनेका छन्, ‘आम नागरिकले कुनै प्रकारको शारिरीक, मानसिक र भौतिक त्रास, पीडा या अभावको अनुभव गर्नु नपरोस् ।’
उनले पराधीनताबाट देशलाई जोगाउनुपर्ने उल्लेख गरेका छन् ।साथै, उनले वितेका केही वर्ष विकासका दृष्टिले देश झनै कमजोर भएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
उनले देशको आर्थिक अवस्थालाई कसरी उकास्ने, छिमेकी र बाह्य मित्रशक्तिसँगको सहयोग र सद्भाव कसरी बढाउँदै जाने भन्नेमा हाम्रो ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् । उनले निषेध, फुट, द्वन्द्व र विग्रहले राष्ट्रलाई कमजोर बनाउने भन्दै परस्परको सद्भावमा जोड दिएका छन् ।

प्रतिक्रिया