काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सम्पत्ति छानबिनको विषयमा सुरुमा आफूले नै उठान गरेकाले कुनै पनि प्रकारको छानबिनका लागि आफू तयार रहेको बताएका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले यसअघि आफूले भनेका विषयमा अडिग रहेको बताएका हुन् । उनले आफ्नो कार्यकालमा भएका निर्णयको सामना गर्न तयार रहेको बताए ।
उनले भने,‘मैले यो छानबिनका विषयमा यसअघि धेरै पटक भनिसकेँ । कुनै पनि छानबिनका लागि म तयार छु ।’ संयोजक प्रचण्डले सरकारबारेमा टिप्पणी गर्ने बेला नभएको बताए । सरकारले पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गरिरहेको खबर आइरहेका छन् ।
एकजना पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध भने सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भइसकेको छ । पूर्वप्रधानमन्त्री प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराईलगायतमाथि पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको बताइन्छ ।

प्रतिक्रिया