बीबीसी । इरानसँगको वार्ताको निम्ति अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तानको राजधानी इस्लामाबाद पुगेका छन् ।
उनीसँगै स्टीभ वीटकोफ र जारेड कुश्नरले इरानसँगको वार्तामा भाग लिने बताइएको छ। अमेरिकी उपराष्ट्रपतिले २१ वर्षपछि पहिलो पटक पाकिस्तान टेकेको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।
बीबीसी न्यूज उर्दूका अनुसार इस्लामाबादमा अमेरिका र इरानबीच हुन लागेको वार्ता र सहरमा महत्त्वपूर्ण प्रतिनिधिमण्डलको आगमनलाई लिएर सुरक्षा व्यवस्था उच्च तुल्याइएको छ ।
इरानपछि अमेरिकाका वार्ताकारहरू पनि पाकिस्तानको इस्लामाबाद पुगेका हुन् । वार्ताको निम्ति इरानी प्रतिनिधिमण्डल यसअघिनै इस्लामाबाद पुगिसकेको छ ।
इरानी वार्ता टोलीका नेता मोहम्मद बाकर कलिबाफले आफूहरूको मनसाय राम्रो रहेको बताएका छन् । तर अमेरिकाप्रति आफूहरूको विश्वास नरहेको उनको प्रतिक्रिया छ ।
पाकिस्तानले इस्लामाबादमा आज हुन लागेको शान्ति वार्तामा आफ्नो भूमिकालाई लिएर उत्सव मनाइरहेको छ । अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्दै शान्ति स्थापनामा सहयोग गर्न पाकिस्तानले दुई हप्ताको युद्धविरामको निम्ति मध्यस्थता गरेको थियो ।
राजधानीका सडकहरूमा ‘इस्लामाबाद वार्ता’ लेखिएका डिजिटल बोर्डहरू देख्न सकिन्छ । जसमा अमेरिका र इरानका झन्डा छन्। र, त्यसको बीचमा पाकिस्तानको प्रतीक चिन्ह राखिएको छ । देशले शान्ति वार्तामा आफ्नो भूमिकाको दर्साउन मनाउन दुई दिने बिदा पनि घोषणा गरेको छ।

प्रतिक्रिया