पूराना र नयाँ भनिएका दलको नीतिगत सिद्धान्त र विचारको नाभी एउटै ठाउँमा जोडिएको प्रष्ट भयोः ज्ञानेन्द्र शाही


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नयाँ र पुराना भनिएका दलको विचारको नाभी एकै ठाउँमा रहेको बताएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा राप्रपाकी सरस्वती लामालाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गर्दै शाहीले यस्तो बताएका हुन् । शाहीले उपसभामुखको निर्वाचनमा आफ्नो दललाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट धोका दिएको बताए ।

उनले नयाँ, पुराना दलको साइनबोर्डमात्र फरक रहेको र नाभी भने एकैठाउँमा रहेके बताए । उनले भने, ‘आजको हाम्रो उम्मेदवारीले राजनीतिमा स्पष्ट कित्ता क्लियर बनाएको छ । हिजो पूराना भनिएका राजनीतिक दल र अहिले उदाएका नयाँ राजनीतिक दलका साइनबोर्डहरू फरक–फरक भएता पनि उनीहरू बीचको नीतिगत सिद्धान्त र विचारको नाभी एउटै ठाउँमा जोडिएको प्रष्ट भएको छ ।’

उनले उपसभामुखमा रास्वपा सभापति रवि लामिछानेबाट सहयोगको आश्वासन पाएरै उम्मेदवारी दिएको भन्दै उनले पछि धोका पाएको बताए । उनले रास्वपाले पनि पुराना दलहरूकै जस्तो व्यवहार गरेको बताए । शाहीले समावेशी सिद्धान्त अनुसार जनजाति उम्मेदवारलाई अगाडि सारेको बताए ।

उनले भने, ‘संसद्को ठूलो दलबाट प्रस्ताव आएपछि उम्मेदवारी दिने टुंगोमा पुगेका थियौं । रास्वपा सभापतिबाटै सहयोगको आश्वासन पाएपछि उम्मेदवारी दिएका हौं ।’ यसबाट रास्वपा र पूराना दलहरू एकठाउँमा उभिएको स्पष्ट भएको भन्दै उनले राजनीतिमा स्पष्ट कित्ता क्लियर भएको बताए ।

उनले संसदमा संख्या त केवल सत्ता टिकाइराख्न र सत्ताको गोटी भरिरहन काम लाग्ने मात्र भएको बताए । शाहीले युद्ध र प्रेममा सबै कुरा जायज हुन्छ भने राजनीतिमा आश्वासन र धोका पनि जायज हुने बताए । ।