रोयटर्स । इजरायलले बुधबार लेबनानमा अहिलेसम्मकै सबैभन्दा भीषण आक्रमण गर्दा सयौंको मृत्यु भएको छ । उक्त आक्रमणपछि इरानले प्रतिकारको चेतावनी दिँदै संयुक्त राज्य अमेरिकासँग स्थायी शान्ति सम्झौताका लागि वार्ता अघि बढाउनु ‘अव्यावहारिक’ हुने जनाएको छ।
इरानका प्रमुख वार्ताकार तथा संसद् सभामुख मोहम्मद बाघेर कालीबाफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार घोषणा गरेको युद्धविरामपछि पनि क्षेत्रीय अस्थिरता कायमै रहेको बताएका छन्। शनिबारदेखि सुरु हुने भनिएको वार्ताका लागि दुवै पक्षबीच गम्भीर मतभेद रहेको र दुई हप्ते युद्धविराम टिक्ने–नटिक्ने अन्योल रहेको उनले उल्लेख गरे।
कालीबाफले इजरायलले हिजबुल्लाहविरुद्ध आक्रमण तीव्र पार्दै युद्धविरामका सर्त उल्लंघन गरेको आरोप लगाए। साथै, अमेरिकाले इरानलाई आणविक कार्यक्रम त्याग्न दबाब दिँदै सम्झौताको मर्म विपरीत काम गरेको दाबी गरे । ‘यस्तो अवस्थामा द्विपक्षीय युद्धविराम वा वार्ता अव्यावहारिक हुन्छ,’ उनले भने।
यता, इजरायल र अमेरिकाले उक्त युद्धविराम लेबनानमा लागू नहुने स्पष्ट पारेका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आक्रमण जारी रहने बताएका छन्।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बुडापेस्टमा पत्रकारहरूसँग कुरा गर्दै इरानले युद्धविराममा लेबनान पनि समावेश भएको ठानेको हुनसक्ने तर त्यस्तो नभएको बताए।
इरानको आणविक कार्यक्रमका विषयमा पनि दुवै पक्षबीच ठूलो मतभेद देखिएको छ। राष्ट्रपति ट्रम्पले इरानले युरेनियम उत्पादन रोक्न सहमति जनाएको दाबी गरेका छन् भने ह्वाइट हाउसले इरानले आफ्नो मौज्दात हस्तान्तरण गर्ने संकेत दिएको जनाएको छ।
तर कालीबाफले भने युद्धविरामको सर्तअनुसार इरानलाई युरेनियम उत्पादन जारी राख्न अनुमति रहेको बताएका छन्।
पाँच हप्तादेखि जारी युद्धमा हजारौंको ज्यान गइसकेको छ। दुवै पक्षले आफू विजयी भएको दाबी गरे पनि मुख्य विवादहरू अझै समाधान हुन सकेका छैनन्।
यसबीच, विश्व शेयर बजारमा वृद्धि भएको छ भने तेलको मूल्य १४ प्रतिशतले घटेर प्रति ब्यारेल करिब ९५ डलरमा झरेको छ।

प्रतिक्रिया