तनहुँ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सधैँ अग्रसर रहेको बताएका छन् ।
बुधबार तनहुँमा आयोजित भूतपूर्व सैनिक सम्मेलनमा उनले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको संरक्षणमा इतिहासदेखि नै अतुलनीय योगदान गर्दै आएको बताए ।
प्रधानसेनापति सिग्देलले नेपाली सेनालाई आफ्नो ऐतिहासिक परम्परा कायम राख्दै वर्तमान तथा भविष्यका चुनौती सामना गर्न सक्षम संस्थाका रूपमा विकास गर्नुपर्ने बताए ।
उनले देशको सार्वभौमिकताको रक्षाका साथै आन्तरिक सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन तथा अन्तरराष्ट्रिय शान्ति स्थापनामा सेनाले निर्वाह गरेको भूमिकाले नेपाली सेनालाई स्वदेश तथा विदेशमा विश्वसनीय र सम्मानित संस्थाका रूपमा स्थापित गरेको बताए ।
प्रधानसेनापति सिग्देलले नेपाली सेनाको कल्याणकारी बोर्डले लाभग्राहीलाई एउटै छानामुनि ल्याउन सञ्जाल निर्माण तथा विस्तार गर्दै आएको बताए । उनले समग्र आर्थिक क्षेत्रमा आएको सङ्कुचन र सुस्तताका कारण बैंकिङ क्षेत्रमा थपिएको चुनौती, मुद्धती निक्षेपको ब्याज आम्दानीमा आएको गिरावट तथा शान्ति स्थापनामा खटिएका फौजको संख्यामा भएको कटौतीले कल्याणकारी कार्यक्रमको सञ्चालन र दिगोपनामा चुनौती थपिएको बताए ।

प्रतिक्रिया