काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठक सांसदहरूले पहाडी क्षेत्रमा बाँदरले कृषि बाली नष्ट गर्ने गरेको भन्दै सामाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
त्यस्तै बैठकको शून्य समयमा बोल्ने सांसदहरूले मनाङ–मुस्ताङ मुलुकका विभिन्न स्थानमा प्रतिबन्धित क्षेत्र घोषण गर्दा जनताको मौलिक हक हनन भएको भन्दै त्यसलाई खुला गरी स्थानीय तहमार्फत व्यवस्थापन र सञ्चालन गर्न माग गरेका छन् ।
बैठकमा सांसद अशोक चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा बाढीबाट बर्सेनि हुने डुबानको दिगो समस्या समाधानका लागि सरकारसँग आग्रह गरे । सांसद आकृति अवस्थीले सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध भएको जेनजी आन्दोलनमा दमन गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने माग गरे ।
सांसद आर्यन राईले खोटाङलगायत पूर्वी पहाडका कृषि क्षेत्रमा बाँदर आतङ्क समाधानको उपायका बारेमा आफूहरूले सरकारलाई जानकारी गराएको उल्लेख गर्दै शीघ्र समाधानका लागि ध्यानाकर्षण गराए । सांसद आशिष गजुरेलले सडक दुर्घटनामा दैनिक सात जनाको मृत्यु हुने गरेको तथ्य अवगत गराउँदै सडक सुरक्षा विधेयक तत्काल पेस गरी पारित गर्नका लागि ध्यानाकर्षण गराए ।
सांसद आशिका तामाङले त्रिशूलीगायत नदीमा भइरहेको नदीजन्य वस्तुको उत्खननलाई व्यवस्थित गर्न माग गरिन् । सांसद इन्दिरा रानामगरले मुलुकका भविष्यका कर्णधार युवा दुव्र्यसनको सिकार भइरहेको अवस्थमा समाधानका लागि नयाँ कार्यक्रम ल्याउन माग गरिन् ।
सांसद एलिजा गुरुङले मनाङ–मुस्ताङ मुलुकका विभिन्न स्थानमा घोषणा गरिएका प्रतिबन्धित क्षेत्रलाई खुला गरी स्थानीय तहमार्फत व्यवस्थापन र सञ्चालन गर्न माग गरिन् ।
सांसद आकृति अवस्थीले हालैको जेनजी आन्दोलनसँग सम्बन्धित हिंसात्मक घटनाबारे गम्भीर प्रश्न उठाएकी छन् ।
उनले विद्यालय पोसाकमै कुशासन र भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रिएका युवामाथि टाउकोमा गोली प्रहार गर्ने कुन राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनले दिन्छ भन्दै प्रश्न गरेकी छन् ।
उनले भनिन्, ‘विद्यालय पोसाकमा कुशासन र भ्रष्टाचार विरुद्ध प्रदसनमा रहेका भईबहिनीहरु माथि टाउकोमा ताकी ताकी गोली हान्नी हत्या गर्ने गर्ने कुन राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनले दिन्छ ?’ हालको जेनजी आन्दोलनलाई विदेशी प्रभाव वा बाह्य चलखेलसँग जोड्ने प्रयासप्रति उनले आपत्ति जनाउँदै त्यसको सत्यता स्पष्ट गर्न सरकारसँग माग गरिन् ।
सांसद यशुदा कुमारी बरालले २००७ सालदेखि भएका हरेक जनआन्दोलन सम्बन्धी सबै फाइल सार्वजनिक गर्न सरकारसँग माग गरेकी छिन् ।
सांसद बरालले अध्यक्ष केपी शर्मा ओली माथि राजनीतिक प्रतिशोधको कारण कुनै कारबाही गर्न नुहुने भन्दै भोलि सरकारले यसको ठूलो क्षति व्यहोर्न नपरोस् भन्दै चेतावनी दिइन् ।
उनले भनिन्,‘२००७ सालदेखि भएका हरेक परिवर्तनका जनआन्दोलनदेखि लिएर जेनजी आन्दोलन घटनाक्रमलाई लिएर सरकारले सबै फाइल खोलियोस् । हाम्रो अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधको कारणले भित्र नराखियोस् । भोलि सरकारले यसको ठूलो क्षति व्यहोर्न नपरोस् ।’
सांसद गणेश धिमालले ऐतिहासिक सिम्रौनगढको संरक्षण र प्रवद्र्धनमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले सिम्रौनगढलाई मिथिला सभ्यता र तिरहुत क्षेत्रको हजारौं वर्ष पूरानो राजधानी तथा नेपालको मध्यकालीन इतिहासको महत्वपूर्ण धरोहरका रूपमा रहेको बताए । उनले यस क्षेत्रलाई व्यवस्थित रूपमा संरक्षण गरी पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
उनले विशेष रूपमा २०६७ सालमा सुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अन्धाधुन्ध रूपमा पोखरी खन्ने कार्यले सिम्रौनगढको करिब ८० प्रतिशत ऐतिहासिक सम्पदा नष्ट भएको दाबी गरे ।
सांसद अरबिन्द साह विश्वासिलो डिजिटल कृषि बीमा लागू गर्न सुझाव दिएका छन्। उनले झनझटिलो कृषि बीमा प्रणाली र यसमा हुने अपचलनको अध्ययन गरी विश्वासिलो डिजिटल कृषि बीमा लागू गर्न सुझाव दिए । उनले भने, ‘झनझटिलो कृषि बीमा र यसमा हुने अपचलनबारे अध्ययनगरी विश्वासिलो डिजिटल कृषि बीमा लागू गरियोस् ।’

प्रतिक्रिया