काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विगतमा विदेशी ऋणको विषयलाई लिएर विरोध गर्नेहरुले सरकारमा गएपछि दोहोरो चरित्र देखाएको बताएका छन् ।
मंगलबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले हिजो विदेशी ऋणले देश डुबायो भनेर पूर्ववर्ती सरकारको आलोचना गर्नेहरू नै आज सरकारको नीति तथा कार्यक्रम र प्राथमिकता संसदमा स्पष्ट रूपमा प्रस्तुत नगरी ठूलो मात्रामा ऋण लिइरहेका बताएका हुन् ।
उनले भनेका छन्, ‘दिगो पूर्वाधार विकासका लागि लिइने ऋण नेपालका लागि बाध्यता मात्र होइन, आवश्यकता पनि हो। तर हिजो विदेशी ऋणले देश डुबायो भनेर पूर्ववर्ती सरकारको आलोचना गर्नेहरू नै आज सरकारको नीति तथा कार्यक्रम र प्राथमिकता संसदमा स्पष्ट रूपमा प्रस्तुत नगरी ठूलो मात्रामा ऋण लिइरहेका छन् भन्ने विषय सार्वजनिक हुँदा स्वाभाविक रूपमा प्रश्न उठ्छ । हिजो विरोध किन ? आज स्वीकार किन ? सरकारले यसबारे जनतालाई स्पष्ट र पारदर्शी जवाफ दिनु आवश्यक छ ।’
गत केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले विश्व बैंक र एसियाली विकास बैंकसँग झण्डै २८ अर्ब ऋण लिने निर्णय गरेको थियो । विगतमा रास्वपा सरकारबाहिर हुँदा सरकारले विदेशी ऋण लिएको भन्दै विरोध गर्दै आएको थियो ।

प्रतिक्रिया