इरानबाट पाइलटको उद्धार ‘दैवी साथ प्राप्त’ सफल कार्यः ट्रम्प


रोयटर्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धको छवि सुधार्ने प्रयास गरेका छन् । इरानभित्र खसेका एक अमेरिकी वायुसेना सदस्यको सप्ताहन्तमा गरिएको साहसी उद्धारपछि ट्रम्पले उक्त घटनालाई सैन्य सफलताको रूपमा प्रस्तुत गरेका हुन्।

पाँच सातादेखि जारी र अमेरिकी जनतामाझ अलोकप्रिय बन्दै गएको युद्धबीच उनले यसलाई नेतृत्व र क्षमताको उदाहरणका रूपमा अघि सारे । सोमबार ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले उद्धार अभियानलाई ‘दैवी साथ प्राप्त’ सफल कार्य भन्दै अमेरिकी सेनाको प्रशंसा गरे । यसअघि पनि उनले इरानबारे सिधै जनतालाई सन्देश दिने प्रयास गरेका थिए।

तर बमबारी अभियानको औचित्य स्पष्ट पार्न उनले कठिनाइ भोग्दै आएका छन्। सामाजिक सञ्जालमा प्रयोग गरेको आक्रामक अभिव्यक्तिका कारण उनको शैलीमाथि आलोचना हुँदै आएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले उद्धार अभियानका विभिन्न पक्षहरू सार्वजनिक गरे।

उनले घाइते अवस्थामा दुई दिनसम्म इरानभित्र लुकेर बसेका सैनिकलाई उद्धार गरिएको र त्यस क्रममा ठूलो जोखिम मोलिएको बताए । उद्धारमा संलग्न सैनिकको संख्या गोप्य राखिएको भए पनि ‘सयौँ’ सहभागी रहेको ट्रम्पको भनाइ थियो।

उनले केही सैन्य अधिकारीहरूले अभियान नगर्न सुझाव दिएको समेत खुलासा गरे । यसबीच ट्रम्पले युद्ध अन्त्यका लागि भइरहेको कूटनीतिक प्रयासको ढिलाइप्रति असन्तुष्टि जनाएका छन्। साथै, विश्व ऊर्जा आपूर्तिको महत्वपूर्ण मार्ग होर्मुज अवरुद्ध रहेको विषयमा पनि उनले चिन्ता व्यक्त गरे ।